काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौं ले नदी किनारमा रहेका अनधिकृत तथा जोखिमपूर्ण बस्तीहरू तत्काल खाली गर्न कडा निर्देशन दिएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार वैशाख १८ गते बिहान ७ बजेदेखि काठमाडौंका विभिन्न स्थानमा रहेका यस्ता बस्ती हटाउने कार्य एकैसाथ सुरु गरिनेछ। यसअघि नै वैशाख १७ गते साँझसम्म सबै घरटहरा पूर्ण रूपमा खाली गर्न निर्देशन दिइएको छ।
प्रशासनका अनुसार सरकारी, सार्वजनिक, पर्ति तथा निजी जग्गासमेत अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरूलाई मानवीय उद्धार तथा विपद् जोखिम न्यूनीकरणका लागि हटाउन लागिएको हो।
सूचनामा विशेषगरी बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी तथा बालबालिकालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ। यस कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नगर प्रहरीलाई तयारी अवस्थामा राखिएको छ भने आवश्यक परे एम्बुलेन्स सेवा पनि उपलब्ध गराइने जनाइएको छ।
प्रशासनले वास्तविक रूपमा आश्रय आवश्यक परेका परिवारलाई अस्थायी बसोबासको व्यवस्था गर्ने र वास्तविक भूमिहीनको पहिचान गरी दीर्घकालीन समाधान खोजिने जनाएको छ। साथै बालबालिकाको शिक्षाको व्यवस्था मिलाइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यसैबीच, गलत हल्ला वा अफवाहमा नलाग्न आग्रह गर्दै नक्कली भूमिहीन बनेर सरकारी जग्गा ओगट्नेहरूलाई कडा कारबाही गरिने चेतावनी दिइएको छ।
सूचनाको अवज्ञा गरी बसोबास जारी राखेमा घरटहरा भत्किँदा हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै वहन गर्नुपर्ने उल्लेख गर्दै प्रशासनले समयमै सुरक्षित स्थानमा सर्न सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया