काठमाडौँ । सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने अर्धमासिक प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालय का अनुसार यो व्यवस्था पाइलट परियोजनाका रूपमा आइतबारदेखि कार्यान्वयनमा ल्याइएको हो।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले उक्त प्रणालीको शुभारम्भ गरेका हुन्।
नयाँ प्रणालीअनुसार महालेखा नियन्त्रक कार्यालय मार्फत कम्प्युटराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) प्रयोग गरी कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाइएको छ। यससँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो १५ दिनको तलब प्राप्त गरेका छन्।
अर्थमन्त्री वाग्लेले अर्धमासिक तलब वितरणले बजारमा तरलता बढाउने, उपभोग र मागलाई सशक्त बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार हाल संघीय निजामती कर्मचारीमा सीमित यो प्रणाली क्रमशः सबै सरकारी वेतनधारीमा विस्तार गरिनेछ।
कार्यक्रममा महालेखा नियन्त्रक शोभाकान्त पौडेल ले प्रणाली विस्तारका लागि कार्यालय पूर्ण रूपमा तयार रहेको जानकारी दिँदै प्रदेश तथा अन्य सरकारी सेवामा पनि क्रमिक रूपमा लागू गरिने बताए।
उनका अनुसार नयाँ प्रणालीमार्फत आवश्यकताअनुसार १५ दिन वा मासिक रूपमा तलब भुक्तानी गर्न सकिनेछ। अर्धमासिक तलब वितरणले बजारमा नियमित नगद प्रवाह सुनिश्चित गर्ने, साना व्यवसायीलाई सहयोग पुग्ने तथा सेवा क्षेत्र र डिजिटल अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
उल्लेखनीय रूपमा, यही वैशाख ४ गते अर्थमन्त्री वाग्लेले १५ दिनमै तलब भुक्तानी गर्ने व्यवस्था पाइलट परियोजनाका रूपमा अघि बढाउने निर्णय गरेका थिए।
प्रतिक्रिया