रास्वपाको नयाँ निर्देशिका: ‘माननीय’ प्रयोग नगर्न, टिकटमा व्यक्तिगत आश्वासन दिन नपाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०८३, बिहीबार ०५:१०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना जनप्रतिनिधिहरूको कार्यशैली, अनुशासन र आगामी चुनावी तयारीलाई लक्षित गर्दै नयाँ आन्तरिक निर्देशिका जारी गरेको छ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा पार्टी सभापति रवि लामिछाने ले सांसदहरूलाई आधिकारिक लेटरहेड, कार्ड तथा कागजातहरूमा एकरूपता कायम गर्न निर्देशन दिएका छन्।

बैठकमा संसदीय अभ्यासमा देखिने तामझाम घटाउने उद्देश्यसहित ‘माननीय’ सम्बोधन प्रयोग नगर्न स्पष्ट निर्देशन दिइएको जानकारी प्रवक्ता मनिष झा ले दिएका छन्।

संगठन सुदृढीकरण र क्षमता अभिवृद्धिमा जोड
बैठकमा पार्टी संगठनलाई थप मजबुत बनाउने र सांसदहरूको क्षमता अभिवृद्धि गर्ने विषयमा पनि गम्भीर छलफल भएको थियो। सांसदहरूलाई संसदीय प्रक्रिया, नीति निर्माण र व्यवहारिक ज्ञानमा अझै सुधार आवश्यक रहेको निष्कर्ष निकाल्दै मेन्टर तथा विज्ञहरूको सहयोग लिन सुझाव दिइएको छ।

‘क्यान्डिडेट क्लब’ अवधारणा अघि
रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ को अवधारणा अघि सारेको छ। वैशाख २० गतेदेखि सुरु हुने यस अभ्यासले उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने विश्वास गरिएको छ।

टिकट वितरणमा कडाइ
टिकट वितरणको विषयमा सभापति लामिछानेले कडा सन्देश दिएका छन्। कुनै पनि सांसदले व्यक्तिगत रूपमा कसैलाई टिकट दिने आश्वासन दिन नपाउने स्पष्ट नियम लागू गरिएको छ। यस्तो गतिविधि भेटिएमा सम्बन्धित सांसदलाई कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

अध्यादेश विवादबारे छलफल
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम—विशेषतः सरकारले संसद् अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने सिफारिस—का विषयमा पनि छलफल भएको थियो। रास्वपाले आफ्नो संसदीय भूमिका प्रभावकारी बनाउने र सरकारलाई जवाफदेही बनाउने रणनीतिबारे सांसदहरूबाट सुझाव संकलन गरेको जनाएको छ।

समग्रमा, रास्वपाले पार्टीभित्र अनुशासन, पारदर्शिता र संस्थागत प्रणाली बलियो बनाउन नयाँ कदम अघि बढाएको देखिएको छ।

प्रतिक्रिया

Leave a Reply