घरदैलोमै राहदानी सेवा १४ जिल्लामा विस्तार, लाइसेन्स वितरणमा पनि प्रगति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०८३, बुधबार ०५:३०

काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभाग का अनुसार ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिसकिएको छ।

विभागका अनुसार गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडी लगायत जिल्लासँग सम्झौता गरी सेवा विस्तार गरिएको छ। अन्य जिल्लाहरूमा भने जिल्ला प्रशासन कार्यालयबाट राहदानी प्राप्त भएपछि घरमै वितरण गर्ने प्रक्रिया अघि बढाइएको छ।

हाल सबै जिल्ला प्रशासन कार्यालयहरूले राहदानी बनाउन आउने सेवाग्राहीसँग ठेगाना संकलन सुरु गरिसकेका छन्, जसले सेवा विस्तारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

लाइसेन्स वितरणमा पनि उल्लेखनीय उपलब्धि

सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणतर्फ पनि प्रगति देखिएको छ। २०८३ वैशाख १५ गते दिउँसो ३ बजेसम्म हुलाक सेवा विभाग मार्फत २ लाख ५६ हजार १२६ वटा लाइसेन्स सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको छ।

मोरङ र कास्की जिल्लामा भने यातायात कार्यालयसँग समन्वय गरी लाइसेन्स घरमै पुर्‍याउने सेवा सुरु गरिएको छ।

अन्य सेवा विस्तारको तयारी

विभागले अन्य विभिन्न सेवामा पनि काम अघि बढाएको जनाएको छः

  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सँग प्रयोगशाला नमुना ढुवानी सम्झौता अन्तिम चरणमा
  • नेपाल टेलिकम सँग सिमकार्ड घरमै पुर्‍याउने तयारी
  • त्रिभुवन विश्वविद्यालय सँग प्रमाणपत्र ढुवानीबारे दोस्रो चरणको छलफल सम्पन्न
  • मध्यपश्चिम विश्वविद्यालय सँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी सुरु

यसैगरी राहदानी विभाग सँग प्रणाली अन्तरआवद्धता तथा महालेखा नियन्त्रक कार्यालय सँग प्रणाली एकीकरणका लागि पहल भइरहेको छ।

सरकारले गत चैत १३ गते सार्वजनिक गरेको १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गर्ने लक्ष्य लिएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयसञ्चार तथा सूचना प्रविधि मन्त्रालय बीच समन्वय भइरहेको छ।

सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना ले कार्यान्वयनमा सक्रिय भूमिका खेल्दै सम्बन्धित निकायहरूलाई सहकार्य र समस्या समाधानमा तत्पर रहन निर्देशन दिएका छन्।

प्रतिक्रिया

Leave a Reply