काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन भएका छन्।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको जानकारी पार्टीका प्रवक्ता देवराज चालिसे ले दिएका छन्। उनका अनुसार संसदीय दलको नेताको चयनप्रति व्यापक चासो र जिज्ञासा रहेकाले स्पष्टता दिन आवश्यक भएको थियो।
चालिसेले भने, वर्तमान संसदीय संरचना र दलको विधानलाई समयानुकूल परिमार्जन गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हो। लोकतान्त्रिक अभ्यासअन्तर्गत सर्वसम्मति पनि निर्वाचनकै एक महत्वपूर्ण प्रक्रिया भएको उनले उल्लेख गरे। पार्टीका ३८ जना सांसदमध्येबाट सहमतिका आधारमा आङ्देम्बेलाई नेता बनाउने निर्णय गरिएको हो।
यसैबीच कांग्रेसले संसद् छलेर अध्यादेश ल्याउने सरकारी कदमप्रति आपत्ति जनाएको छ। संसद् अधिवेशन बोलाएर पुनः स्थगित गर्नु र अध्यादेशमार्फत निर्णय गर्नु लोकतान्त्रिक मूल्यअनुसार उपयुक्त नहुने पार्टीको धारणा छ।
वि.सं. २०६४ पछि पहिलोपटक कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन भएको हो। समानुपातिक सांसद आङ्देम्बे पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्रीमा निर्वाचित भएका थिए।
लामो समयदेखि पार्टीभित्र सन्तुलनकारी भूमिका खेल्दै आएका आङ्देम्बेले अब संसद्मा कांग्रेसको संसदीय मोर्चाको नेतृत्व गर्नेछन्। २०७० सालको संविधानसभा निर्वाचनमा पाँचथर–२ बाट निर्वाचित भई संसदीय अनुभव हासिल गरेका उनी आगामी दिनमा बदलिँदो राजनीतिक परिस्थितिमा कस्तो भूमिका खेल्छन् भन्ने चासो बढेको छ।
उनको सर्वसम्मत चयनलाई कांग्रेसभित्रको गुटगत राजनीति अन्त्य गर्ने प्रयासका रूपमा समेत हेरिएको छ। अब संसद्मा कांग्रेसको प्रभावकारी उपस्थितिसँगै सरकारसँगका जटिल विषयहरूमा उनले कस्तो नेतृत्व दिन्छन् भन्ने विषयले राजनीतिक वृत्तमा विशेष महत्व पाएको छ।
प्रतिक्रिया