मानुङकोटमा जग्गा एकीकरण आयोजना : पर्यटकीय ग्राम बनाउने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०८३, सोमबार ०५:३३

दमौली । व्यास नगरपालिकाले पर्यटकीय गन्तव्य मानुङकोटमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको छ।

नगरपालिका–५ मा पर्ने मानुङकोट क्षेत्रलाई व्यवस्थित र दिगो रूपमा विकास गर्ने उद्देश्यले करिब सात सय रोपनी क्षेत्रफलमा आयोजना अघि बढाइने भएको हो। प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालका अनुसार प्रारम्भिक अध्ययन पूरा भइसकेको छ र आयोजनालाई कार्यान्वयन गर्न संस्थागत तयारी भइरहेको छ।

उनका अनुसार मानुङकोटलाई योजनाबद्ध पूर्वाधारसहितको आकर्षक पर्यटकीय ग्रामका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। दमौली बजार नजिकै रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्य र मौलिक पहिचानका कारण दीर्घकालीन पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त मानिन्छ।

आयोजना कार्यान्वयनपछि सडक, खानेपानी, विद्युत्, पदमार्ग, पार्कलगायत आधारभूत पूर्वाधार व्यवस्थित रूपमा विकास गरिनेछ। यसले स्थानीय स्तरमा रोजगारी सिर्जना, व्यवस्थित बसोबास र आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

मानुङकोट पछिल्लो समय सूर्योदय र कुहिरोले ढाकिएको दमौली बजारको दृश्यका कारण पर्यटकको रोजाइमा पर्दै आएको छ। यहाँबाट धौलागिरी हिमाल, माछापुच्छ्रे हिमाल, अन्नपूर्ण हिमाल, मनास्लु हिमाललमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ।

मानुङकोटसँग जोडिएको पौराणिक किंवदन्ती पनि प्रख्यात छ। पराशर ऋषिले सत्यवतीसँगको प्रसंग लुकाउन कुहिरो सिर्जना गरेको कथासँग यस क्षेत्र जोडिएको मानिन्छ।

हाल सहरी विकास मन्त्रालयको लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र भइसकेको छ, जसले पर्यटक आगमनमा थप सहजता ल्याएको छ।

पछिल्लो समय पर्यटकको चाप बढ्दै जाँदा गाउँ छाडेका स्थानीयहरू पनि पुनः फर्केर व्यवसायमा संलग्न हुन थालेका छन्, जसले क्षेत्रको आर्थिक गतिविधि विस्तार हुने संकेत देखाएको छ।

प्रतिक्रिया

slot gacor