काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका एक हजार २७२ घरटहरा भत्काइएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौं महानगरपालिकाको नगर प्रहरीको समन्वयमा शनिबार र आइतबार थापाथली, गैरीगाउँ–बानेश्वर, जडिबुटी तथा भक्तपुरको मनोहरा क्षेत्रमा अवैध संरचना हटाइएको हो।
प्रहरीका अनुसार ती क्षेत्रमा कुल १,६५० घरटहरा रहेका छन्, जसमध्ये १,२७२ हटाइसकिएको छ। गैरीगाउँ–सिनामङ्गलमा १५ पक्की घर र भक्तपुरको मनोहरा क्षेत्रमा ३६५ घरटहरा अझै हटाउन बाँकी रहेको अविनारायण काफ्लेले जानकारी दिएका छन्।
शनिबार बागमती नदी किनार, थापाथलीमा रहेका १४३ घरटहरा हटाइएका थिए। सो क्रममा विस्थापित भएका ३४ परिवारका ११५ जनालाई राधास्वामी सत्सङ्ग भवनमा अस्थायी रूपमा राखिएको छ।
गैरीगाउँ–बानेश्वर क्षेत्रमा ५७८ मध्ये ५६० घरटहरा भत्काइएको छ भने बाँकी संरचना हटाउने कार्य जारी छ। यस्तै जडिबुटी क्षेत्रमा ११४ घरटहरा हटाइएका छन्, जहाँ करिब ६०० जनाको बसोबास थियो।
भक्तपुरको मनोहरा क्षेत्रमा ८१५ मध्ये ४५० भन्दा बढी घरटहरा हटाइएको छ। सो क्षेत्रमा आज बिहानदेखि डोजर प्रयोग गरी संरचना हटाइए पनि वर्षाका कारण काम अस्थायी रूपमा रोकिएको छ।
सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक व्यवस्थापन गर्ने काम भइरहेको जनाएको छ।
विस्थापित नागरिकका लागि अस्थायी रूपमा दशरथ रंगशालामा अभिलेख राखी होटल तथा लजमा बसोबासको व्यवस्था गरिएको छ। सहारा नभएका नागरिकलाई खान–बस्नेसमेत सुविधा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालका अनुसार प्रारम्भिक चरणमा जोखिमयुक्त बस्ती हटाइने र दोस्रो चरणमा वास्तविक भूमिहीनको पहिचान गरी दीर्घकालीन व्यवस्थापन गरिनेछ।
यसैबीच विस्थापित बालबालिकामा पर्न सक्ने मनोसामाजिक असर न्यूनीकरण गर्न काठमाडौं महानगरपालिकाले खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।
प्रतिक्रिया