एमालेभित्र उथलपुथल : ओली हटाउने तयारी, ब्यानरबाटै संकेत ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०८३, बुधबार ०५:५५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल ले मंगलबार पार्टीको ७७औँ स्थापना दिवसका लागि सार्वजनिक गरेको ब्यानरले पार्टीभित्रको आन्तरिक समीकरणबारे नयाँ बहस सुरु गरेको छ।

पोखरेलले सार्वजनिक गरेको ब्यानरमा संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशीमोतीदेवी श्रेष्ठ का तस्बिर मात्र राखिएका छन्। अघिल्ला ब्यानरहरूमा अनिवार्यजस्तै रहने अध्यक्ष केपी शर्मा ओली को तस्बिर यसपटक हटाइएपछि यसको राजनीतिक अर्थ खोजिन थालेको हो।

मिडियामा ‘ओलीको तस्बिर हटाइयो’ भन्ने चर्चा चलिरहँदा पार्टीभित्र भने उनलाई अध्यक्ष पदबाट हटाउने तयारी तीव्र बनेको स्रोतहरू बताउँछन्। उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलसहित बहुमत पदाधिकारी ओलीलाई पदच्युत गर्ने रणनीतिमा जुटेको बताइएको छ।

स्रोतका अनुसार सचिवालय बैठकबाटै ओलीलाई हटाउने निर्णय गर्ने र त्यसलाई केन्द्रीय कमिटीबाट अनुमोदन गराउने तयारी छ। लामो प्रक्रिया अपनाउँदा पार्टी कमजोर हुने निष्कर्षसहित छिटो निर्णयतर्फ नेतृत्व अघि बढेको जनाइएको छ।

यसअघि प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको पराजयको जिम्मेवारी लिँदै पद त्याग गर्न ओलीलाई पटक–पटक आग्रह गरिएको थियो। तर उनले अस्वीकार गरेपछि असन्तुष्ट समूह ‘निर्णायक कदम’ को तयारीमा पुगेको बुझिएको छ।

पछिल्लो समय पोखरेल र पौडेलबीच रणनीतिक सहकार्य बलियो बन्दै गएको दाबी गरिएको छ। उनीहरूलाई उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूको साथ रहेको बताइन्छ।

यता ओली पक्ष भने प्रतिरक्षामा देखिएको छ। उपाध्यक्ष रामबहादुर थापा, सचिव महेश बस्नेतभानुभक्त ढकाल लगायतका नेताहरू ओलीको पक्षमा उभिएका छन्।

स्वास्थ्य उपचारपछि निवास फर्किएका ओलीले आफूविरुद्ध भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केही नेताहरूप्रति आक्रोश व्यक्त गरेको स्रोतको दाबी छ।

एमालेभित्र विकसित यो घटनाक्रमले आगामी दिनमा पार्टीको नेतृत्व र दिशा दुवैमा ठूलो प्रभाव पार्ने देखिएको छ।

प्रतिक्रिया

Leave a Reply