काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पुरातत्व विभाग का पूर्व सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
निर्माण कम्पनीसँग सम्बन्धित ठेक्का प्रक्रियामा सहजीकरण गरिदिएबापत करिब ४ करोड २२ लाख ७५ हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले मंगलबार विशेष अदालत मा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार करिब ६४ करोड २१ लाख रुपैयाँ बराबरको ठेक्का प्रक्रियामा संलग्न रहँदा श्रेष्ठले देउकला अधिकारी को बैंक खाता प्रयोग गरी घुस रकम संकलन गरेका थिए। उक्त रकम विभिन्न मितिमा खातामा जम्मा गरिएको र त्यसबाट जग्गा खरिद, सुन किनबेच तथा अन्य भुक्तानी गरिएको पाइएको छ।
अख्तियारले दुवै जनाविरुद्ध भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर गरेको छ। उनीहरूबाट जनही ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ बमोजिम कारबाहीको माग गरेको छ।
मुख्य अभियुक्त श्रेष्ठविरुद्ध जरिवाना, कैद र अवैध सम्पत्ति जफत गर्न माग गरिएको छ भने मतियारको भूमिकामा रहेकी अधिकारीलाई पनि सोही सरह सजायको माग गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया