काठमाडौं । वालेन्द्र शाह ले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाउने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वैशाख ८ गते भएको छलफलमा उनले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्रै सरकारको सेवा प्रवाह प्रभावकारी हुने बताए। “यी निकायहरू सुधार गर्न सके सरकार सञ्चालनमा ठुलो सहयोग पुग्छ,” उनले भने।
नीति अनुसन्धान प्रतिष्ठानको भूमिकाबारे बोल्दै प्रधानमन्त्री शाहले विषय विज्ञ र अनुसन्धानकर्ताको योगदान अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे। उनले गहिरो अध्ययन र दूरदर्शी सोचसहितका सुझाव सरकारलाई आवश्यक रहेको बताउँदै विज्ञहरूको प्राज्ञिक कार्यलाई पूर्ण रूपमा उपयोग गरिने धारणा राखे।
प्रधानमन्त्री शाहले दुवै निकायलाई कुनै बहानाबिना नतिजामुखी ढंगले काम गर्न निर्देशन दिँदै ठोस योजना र प्रभावकारी कार्यान्वयनमा जोड दिए। विकासमा विषय विज्ञको भूमिका अतुलनीय रहेको उनले उल्लेख गरे।
मन्त्रालयहरूबीच समन्वय नभएको भन्ने तर्क अस्वीकार्य हुने स्पष्ट पार्दै उनले एउटै सरकार अन्तर्गत यस्तो समस्या हुन नहुने बताए। साथै बजेट र कानुनी जटिलतालाई काम नगर्ने बहानाका रूपमा प्रयोग नगर्न सचेत गराए।
“प्रभावकारी अध्ययन र अनुसन्धानबाट मात्रै परिणाम सम्भव हुन्छ। पुराना नीति र ऐनकै भरमा लामो समय काम चलाउन सकिए पनि सुधार नगरेसम्म देश समृद्ध हुन सक्दैन,” उनले भने।
छलफलमा स्वर्णिम वाग्ले ले वर्तमान समयलाई सुधारको अवसरका रूपमा लिनुपर्ने बताउँदै विज्ञहरूको ज्ञानलाई नीति, कार्यक्रम र बजेटमा रूपान्तरण गर्न निर्देशन दिए। उनले स्पष्ट लक्ष्य, पर्याप्त बजेट र मापनयोग्य परिणामसहितका प्रस्ताव मन्त्रालयमार्फत ल्याउनुपर्नेमा जोड दिए।
अर्थमन्त्री वाग्लेले संस्थागत संरचना सुदृढीकरण, अप्रासङ्गिक प्रावधान हटाउने तथा नयाँ आवश्यकता अनुसार नीति विकास गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिए। साथै, नवप्रवर्तनात्मक कार्यक्रमहरू ‘पाइलट प्रोजेक्ट’ का रूपमा सुरु गरी सफल भएपछि राष्ट्रिय स्तरमा विस्तार गरिने रणनीतिबारे पनि चर्चा गरे।
छलफलमा आयोगका पदाधिकारीहरूले कार्य प्रगति, चुनौती र बजेट अवस्थाबारे जानकारी गराएका थिए भने प्रतिष्ठानका कर्मचारीहरूले थप जनशक्ति र स्रोतसाधनको आवश्यकता औँल्याएका छन्। प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादले आफूहरूलाई थप ऊर्जा र नतिजामुखी काम गर्न प्रेरणा मिलेको उनीहरूले बताएका छन्।
प्रतिक्रिया