काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा स्वकीयबाट पार्टीलाई बुझाउनुपर्ने लेबी निर्धारण गरेको छ।
केन्द्रीय समितिको बैठकले सचिवालयबाट पारित निर्णयलाई संशोधन गर्दै नयाँ लेबी संरचना तय गरेको हो।
निर्णयअनुसार प्रत्येक सांसदले प्रतिमहिना १५ हजार रुपैयाँ पार्टीको खातामा जम्मा गर्नुपर्नेछ। रास्वपामा मन्त्रीबाहेक १६६ सांसदबाट मात्रै प्रतिमहिना २४ लाख ९० हजार रुपैयाँ संकलन हुने भएको छ। यस आधारमा सांसदबाट वार्षिक २ करोड ९८ लाख ८० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
त्यसैगरी मन्त्रिपरिषद्मा रहेका १६ मन्त्रीबाट प्रतिमहिना १८ हजार रुपैयाँका दरले लेबी संकलन गरिनेछ। मन्त्रीहरूबाट मासिक २ लाख ८८ हजार रुपैयाँ र वार्षिक ३४ लाख ५६ हजार रुपैयाँ उठ्नेछ।
यसरी सांसद र मन्त्रीबाट मात्रै वार्षिक करिब ३ करोड ३३ लाख ३६ हजार रुपैयाँ लेबी संकलन हुने देखिएको छ।
रास्वपाले मन्त्रीका स्वकीयहरूलाई पनि प्रतिमहिना २ हजार रुपैयाँ लेबी तोकेको छ। तर, कति जना स्वकीय राख्ने र कुल संख्याबाट कति रकम उठ्ने भन्ने विषय स्पष्ट गरिएको छैन।
यदि सबै सांसदले स्वकीय सचिव राखेमा करिब १८२ जनाबाट प्रतिमहिना ३ लाख ६४ हजार रुपैयाँ र वार्षिक ४३ लाख ६८ हजार रुपैयाँ थप आम्दानी हुने अनुमान गरिएको छ।
पार्टीले आर्थिक स्रोत व्यवस्थित गर्न र संगठन सुदृढ बनाउन लेबी प्रणालीलाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ।
प्रतिक्रिया