कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमन बढ्दै, स्थानीय पर्यटन व्यवसायमा उत्साह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०८३, आईतवार ०६:४५

काठमाडौं । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै स्थानीय पर्यटन व्यवसायमा उत्साह थपिएको छ। मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको हो।

कञ्चनजङ्घा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त मानिन्छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अन्तर्गत घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाका अनुसार पछिल्लो एक महिनामा मात्रै १६५ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका छन्।

यस क्षेत्रमा वर्षमा दुई प्रमुख पर्यटकीय याम रहने गर्छन्। पहिलो याम चैतदेखि जेठसम्म र दोस्रो असोजदेखि मङ्सिरसम्म हुन्छ। गत वर्ष पहिलो याममै ७५० विदेशी पर्यटक यहाँ पुगेका थिए, जसले यस क्षेत्रको बढ्दो लोकप्रियता झल्काउँछ।

कञ्चनजङ्घा आधार शिविर पुग्न पाँचथरको गणेशचोक हुँदै सिरिजङ्घा गाउँपालिका भएर वा काठमाडौँबाट हवाईमार्गमार्फत सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरिन्छ।

पर्यटकलाई लक्षित गर्दै पदमार्गमा साना–ठूला गरी ५२ वटा होटल सञ्चालनमा रहेका छन्। फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा करिब सात करोड रुपैयाँभन्दा बढी लगानीमा ‘सिङ्गी नामजोंग होटल’ सञ्चालनमा आएको छ। त्यस्तै ३५०० देखि ४५०० मिटर उचाइसम्म एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा छन्।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा पनि पर्यटक लक्षित ठूला होटल सञ्चालनमा आएपछि होटल व्यवसायीहरू थप आशावादी बनेका छन्। स्थानीय समुदायको मुख्य जीविकोपार्जन पर्यटन, होटल व्यवसाय र पशुपालनमा आधारित छ। घुन्सा, फले र याम्फुदिन क्षेत्रका अधिकांश परिवार प्रत्यक्ष रूपमा पर्यटनसँग जोडिएका छन्।

खेतीपातीको सम्भावना कम भएकाले पछिल्लो समय युवापुस्ता पर्यटन व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। कोही होटल सञ्चालन गरेर स्वरोजगार बनेका छन् भने कोही पर्यटक मार्गदर्शक तथा सहयोगीका रूपमा आयआर्जन गरिरहेका छन्।

इतिहासअनुसार सन् १९५५ मे २५ मा कञ्चनजङ्घाको पहिलो सफल आरोहण भएको थियो। विगतमा फुङ्लिङबाट पैदल यात्रा गर्दा २४ दिन लाग्ने यात्रा अहिले छोटिएर ११ देखि १६ दिनमै दुवै आधार शिविर पुगेर फर्कन सकिने भएको छ।

विशेषगरी चैत, वैशाख, जेठ तथा असोज, कात्तिक र मङ्सिर महिनामा यहाँ पर्यटकको चाप बढी हुने गर्दछ भने हिमाल आरोहण मुख्यतः वैशाख र जेठमा हुने गर्दछ। जापान, जर्मनी, अष्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन र स्विडेनलगायत देशबाट पर्यटक यहाँ आउने गरेका छन्। साथै भारतचीनबाट पनि पर्यटक भ्रमण तथा आरोहणका लागि पुग्ने गरेका छन्।

प्रतिक्रिया

Leave a Reply