सर्वोच्चको फैसलापछि शेरबहादुर देउवा पक्षद्वारा गगन थापा नेतृत्व स्वीकार गर्ने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०८३, आईतवार ०६:२३

काठमाडौं। विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको कार्यसमितिलाई अधिकारिकता दिने सर्वोच्च अदालतको फैसलालाई शेरबहादुर देउवा पक्षले स्वीकार गर्ने निर्णय गरेको छ।

शनिबार बसेको देउवा पक्षको बैठकले न्यायालयको निर्णय मान्ने निष्कर्ष निकालेको हो। कांग्रेस नेता मिन विश्वकर्माले पार्टीभित्र मतभेद भए पनि स्वतन्त्र न्यायपालिकाको सम्मान गर्दै फैसला स्वीकार गरिएको बताए।

उनका अनुसार नेपाली कांग्रेसले सधैं न्यायालयका निर्णयलाई आत्मसात गर्ने परम्परा कायम राख्दै आएको छ। “असन्तुष्टि भए पनि अदालतको निर्णयलाई मान्नु लोकतान्त्रिक संस्कार हो,” उनले भने।

विश्वकर्माले दुवै पक्षले आफ्ना दाबी लिएर अदालत गएको अवस्थामा गतिविधि तीव्र बनाउनु स्वाभाविक भएको उल्लेख गर्दै अर्को पक्षलाई गैरकानुनी भन्नु निरर्थक भएको टिप्पणी गरे।

यद्यपि, सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी ऐनको गरेको व्याख्याप्रति देउवा पक्षमा केही असन्तुष्टि भने रहेको उनले संकेत गरे।

देशभर पार्टी एकताको विषयमा चासो बढिरहेको उल्लेख गर्दै उनले अब पार्टीलाई एकीकृत रूपमा अघि बढाउने जिम्मेवारी सभापति गगन थापाको काँधमा रहेको बताए।

यसअघि देउवा पक्षले थापा नेतृत्वलाई अस्वीकार गर्दै निर्वाचन आयोग र अदालतमा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा प्रस्तुत गर्दै आएको थियो।

प्रतिक्रिया

Leave a Reply