कांग्रेस आधिकारिकता विवाद : सुनुवाइ हेर्दाहेर्दैमा, शुक्रबार पनि जारी रहने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०८३, शुक्रबार ०६:१२

काठमाडौं ।  सर्वोच्च अदालत मा नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा परेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।

न्यायाधीशद्वय शारंगा सुवेदीनृपध्वज निरौला को संयुक्त इजलासमा बिहीबारबाट सुरु भएको बहस नसकिएपछि मुद्दालाई शुक्रबारका लागि निरन्तरता दिइएको हो।

आजको सुनुवाइमा रिट निवेदक शेरबहादुर देउवा पक्षका कानुन व्यवसायी तथा सरकारी वकिलले बहस गरेका छन्। इजलासले शुक्रबारका लागि गगन थापा पक्षका कानुन व्यवसायीलाई बहसका लागि समय निर्धारण गरेको छ।

यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेल को इजलासले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पक्षलाई पेसीको सूचना दिन आदेश दिएको थियो।

गत पुस अन्तिम साता भृकुटीमण्डप मा सम्पन्न विशेष महाधिवेशनले १४औं महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। सो निर्णयविरुद्ध देउवा र पूर्णबहादुर खड्का पक्षले माघ ४ गते रिट दायर गरेका थिए।

रिटमा निर्वाचन आयोग को निर्णय बदर गर्दै नयाँ कार्यसमितिलाई अवैधानिक घोषणा गरी भंग गर्न माग गरिएको छ। प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश सुनिलकुमार पोखरेल ले मुद्दामा गम्भीर संवैधानिक प्रश्न उठेकाले विस्तृत व्याख्या आवश्यक रहेको बताएका थिए।

अब शुक्रबार हुने बहसपछि अदालतले यस बहुचर्चित राजनीतिक विवादमा महत्वपूर्ण आदेश दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply