काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले आइतबार उद्योग मन्त्री गौरीकुमारी यादव को सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार उनीसँग काठमाडौं र महोत्तरीमा ठूलो परिमाणमा जग्गाजमिन, सुनचाँदी, बैंक मौज्दात तथा विभिन्न कम्पनीमा लगानी रहेको उल्लेख गरिएको छ।
विवरणअनुसार काठमाडौं महानगरपालिका–९ मा १ रोपनी १ आना २ दाम क्षेत्रफलमा तीनतले घर रहेको छ। त्यस्तै काठमाडौं–१० मा १४ आना, सोही वडाको अर्को स्थानमा ७ आना १ पैसा २ दाम र अर्को स्थानमा ९ आना १ पैसा ३ दाम जग्गा रहेको जनाइएको छ।
महोत्तरी जिल्लातर्फ बर्दिबास नगरपालिका मा १४ कठ्ठा र अर्को स्थानमा १५ कठ्ठा जग्गा रहेको छ। बर्दिबासकै अन्य दुई स्थानमा करिब साढे ६ बिघा जग्गा रहेको विवरणमा उल्लेख छ। साथै सम्सी गाउँपालिका मा १ कठ्ठा जग्गा तथा मनरासिस्वा नगरपालिका मा एउटा पोखरी रहेको जनाइएको छ।
मन्त्री यादवसँग ३० वर्षअघि खरिद गरिएको १८० तोला सुन, दुई किलो चाँदी तथा चारवटा हिराका रिङ रहेको उल्लेख गरिएको छ।
बैंक तथा वित्तीय संस्थामा पनि उनको विभिन्न रकम मौज्दात रहेको छ। सिद्धार्थ बैंक मा ४ लाख, लक्ष्मी सनराइज बैंक मा १ लाख, ग्लोबल आईएमई बैंक मा २ लाख रुपैयाँ रहेको उल्लेख छ। साथै सीभीआईसी र मनमोहन स्वास्थ्य सहकारीमा समेत जम्मा करिब ३ लाख रुपैयाँ बचत रहेको जनाइएको छ। विभिन्न कम्पनीमा उनको ३ करोड ३८ लाख रुपैयाँ बराबरको लगानी रहेको पनि विवरणमा उल्लेख गरिएको छ।
ऋणतर्फ शिवजी यादवको नाममा १ करोड ६० लाख रुपैयाँ ऋण रहेको छ। त्यस्तै कात्तिक यादवको नाममा १ लाख ८७ हजार रुपैयाँ अटो ऋण रहेको र करिब ५७ लाख रुपैयाँ मूल्यको कार पनि सोही नाममा रहेको जनाइएको छ।
यसका साथै ३३२ कित्ता जग्गा बिग मार्ट लाई लिजमा दिइएको र त्यसबाट मासिक ९० हजार रुपैयाँ भाडा आम्दानी हुने उल्लेख गरिएको छ।
उद्योग मन्त्री यादव दीपक साह बर्खास्त भएपछि उक्त जिम्मेवारीमा नियुक्त भएकी हुन्। उनी महोत्तरी–४ बाट निर्वाचित सांसद हुन्।
प्रतिक्रिया