काठमाडौँ । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको उतारचढावका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।
निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँका दरले मूल्य बढाइएको छ।
यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले वृद्धि गरिएको छ। हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाइएको निगमले जानकारी दिएको छ।
नयाँ मूल्यसूचीअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर २०७ रुपैयाँ कायम भएको छ। त्यस्तै, एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ भने हवाई इन्धन (आन्तरिक) प्रतिलिटर २५७ रुपैयाँ कायम गरिएको छ।
सरकारले भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएको भए पनि निगमको घाटा घट्न नसकेको दाबी गरिएको छ। मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने बताइएको छ।
प्रतिक्रिया