काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल ले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान बाट कँडेलले सपथ लिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाह ले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए।
बाग्लुङको बिहुँमा जन्मिएका कँडेलले नेपाल ल क्याम्पस बाट कानुनमा स्नातक गरेका हुन्। त्यसपछि उनले नेसनल युनिभर्सिटी अफ आयरल्याण्ड बाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन र अल्स्टर युनिभर्सिटी बाट कानुनमा स्नातकोत्तर गरेका छन्।
सन् २०२३ मा उनले क्विन्स युनिभर्सिटी बेलफास्ट बाट ‘नेपालमा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा विद्यावारिधि (PhD) गरेका हुन्।
कँडेलले आफ्नो पेशागत यात्रा पत्रकारिताबाट सुरु गरेका थिए। २०४९ सालदेखि पत्रकारिता सुरु गरेका उनले रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार र नेपाल वाणी साप्ताहिकजस्ता सञ्चार माध्यममा करिब एक दशक समाचारदाताका रूपमा काम गरेका थिए।
उनले २०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ धौलागिरी शाखाको सभापतिका रूपमा नेतृत्व गरेका थिए। त्यसपछि २०६० सालमा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएर कानुनी क्षेत्रमा सक्रिय भए।
कँडेलले एम्नेष्टी इन्टरनेसनल, फ्रिडम फोरम तथा मानव अधिकार तथा शान्ति समाजजस्ता संस्थासँग आबद्ध भई काम गरेका छन्।
बेलायतबाट नेपाल फर्किएपछि उनी रवि लामिछाने का कानुनी सल्लाहकारको रूपमा पनि सक्रिय थिए।
प्रतिक्रिया