देशभर बदली र वर्षाको सम्भावना, चट्याङ र हावाहुरीको जोखिम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०८२, बुधबार ०६:३८

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार आज (बुधबार) देशभर मौसममा उल्लेखनीय बदली भई वर्षाको सम्भावना रहेको छ। विशेषगरी पश्चिम र मध्य क्षेत्रका प्रदेशहरूमा मौसम प्रणाली बढी सक्रिय रहने संकेत गरिएको छ।

दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश मा पूर्ण बदली रहने अनुमान छ भने अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको जनाइएको छ।

यसैगरी कोशी प्रदेशबागमती प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि वर्षाको सम्भावना देखिएको छ।

तराई क्षेत्र पनि यसबाट प्रभावित हुन सक्नेछ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा चट्याङसहित वर्षा र हावाहुरीको जोखिम रहने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने चेतावनी दिइएको छ।

रातिको समयमा पनि मौसम पूर्ण रूपमा सुधार नहुने देखिएको छ। देशभर सामान्य बदली रहनेछ भने कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य पहाडी–हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपातको सम्भावना कायम रहनेछ।

मौसमविद्हरूले चट्याङ, हावाहुरी र असिनाबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply