चैतमा मात्रै २३ स्थानमा बर्डफ्लु, एक लाखभन्दा बढी कुखुरा नष्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०८२, मंगलवार ०६:३९

काठमाडौँ । यस वर्ष चैत महिनामा मात्रै देशका विभिन्न २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ। पशु सेवा विभाग का महानिर्देशक डा उमेश दाहाल का अनुसार चैतअघि यस वर्ष बर्डफ्लु देखिएको थिएन।

यस वर्ष पहिलो पटक चैत ६ गते सुन्दरहरैचाउर्लाबारी (मोरङ) मा एकैसाथ बर्डफ्लु देखिएको थियो। त्यसपछि सुनसरीमा १२ स्थान, मोरङमा ७ स्थान, झापामा २, चितवनमा १ र काठमाडौँमा १ स्थानमा संक्रमण पुष्टि भएको छ।

संक्रमण देखिएका स्थानहरूलाई नियन्त्रणमा लिइएको र रोग थप फैलिन नदिएको विभागले जनाएको छ। हालसम्म ती क्षेत्रमा करिब १ लाख ४ हजार कुखुरा तथा हाँस नष्ट गरिएको छ।

काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय परिसर भित्रका कागहरूमा समेत बर्डफ्लु देखिएको पुष्टि भएको छ। संक्रमण फैलिन थालेपछि सुनसरी, झापा र मोरङ जिल्लामा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको छ।

डा. दाहालका अनुसार बर्डफ्लु देखिएको क्षेत्रमा ‘रोग प्रभावित क्षेत्र’ घोषणा गरी आकस्मिक रोग अन्वेषण टोली परिचालन गरिएको छ र संक्रमित पशुपक्षी नष्ट गर्ने कार्य भइरहेको छ। “नियन्त्रण प्रयासका कारण व्यापक रूपमा संक्रमण फैलिन पाएको छैन,” उनले बताए।

सरकारले बर्डफ्लु पुष्टि भएका स्थानमा कुखुरा तथा हाँस नष्ट गर्ने र त्यसबापत किसानलाई ७५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply