काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरामा कार्यरत लेखा अधिकृत झलक शर्मा पौडेल सहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ।
आयोगले सोमबार (चैत २३) विशेष अदालत मा दायर गरेको मुद्दामा पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको सम्पत्तिको स्रोत लुकाउँदै सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ।
अख्तियारका अनुसार उक्त गैरकानुनी सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा पौडेलसँगै उनका परिवारका सदस्यहरू पनि संलग्न रहेको उल्लेख छ। अभियोगपत्रमा पदीय मर्यादा विपरीत आर्जित सम्पत्तिलाई वैध देखाउन विभिन्न व्यक्तिसँग ऋण लिएको देखाइएको उल्लेख गरिएको छ।
अनुसन्धानका क्रममा बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार गरिएको पुष्टि भएको आयोगको दाबी छ। सोही आधारमा बराबर बिगो कायम गरी कैद तथा जरिवानाको माग गरिएको छ।
आयोगले १ करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा बराबरको सम्पत्ति जफत गर्नसमेत अदालतसँग माग गरेको छ। यसअघि पनि पौडेलविरुद्ध ६ करोड २६ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको छ।
सम्पत्ति शुद्धीकरणमा सहयोग गरेको आरोपमा पौडेलकी पत्नी हुमा कुमारी उपाध्याय सहित जमुना कुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको छ।
२०५४ माघ ८ गते सेवा प्रवेश गरेका पौडेलले २०८० कात्तिक १० गतेसम्म आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरिएको हो। अख्तियारले पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको छ।
आयोगका अनुसार अवैध रूपमा आर्जित सम्पत्ति पत्नीको नाममा राखी विवरणमा नखुलाएको समेत पाइएको छ।
प्रतिक्रिया