गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न स्थानीय जनप्रतिनिधिको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०८२, मंगलवार ०६:३४

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लाई यथाशीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याउन स्थानीय जनप्रतिनिधिहरूले सरकारसँग माग गरेका छन्।

भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिका को प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख इश्तियाक अहमद खाँ ले अर्बौं रुपैयाँ लगानीमा निर्माण भएको उक्त विमानस्थल तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनले भगवान् गौतम बुद्धको नामबाट निर्माण गरिएको विमानस्थल सञ्चालनमा आए देशको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे। “विमानस्थल नियमित सञ्चालन भए भैरहवाको मात्र नभई समग्र देशकै विकासमा टेवा पुग्छ, साथै पर्यटकको आवागमन बढ्छ,” उनले भने।

लुम्बिनी क्षेत्रको विकासले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनमा विमानस्थलको भूमिका महत्वपूर्ण हुने बताए।

त्यसैगरी नगर प्रवक्ता मुक्तिनाथ यादव ले विमानस्थल सञ्चालन नहुँदा स्थानीय उद्योगी–व्यवसायीहरू प्रभावित भएको बताए। उनले वर्तमान सरकारलाई शीघ्र आवश्यक निर्णय लिन आग्रह गरे।

स्थानीय तहका जनप्रतिनिधिहरूले लुम्बिनी क्षेत्रको समग्र विकास र पर्यटन विस्तारका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन अत्यावश्यक रहेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply