काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो समय विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ।
रास्वपाका महामन्त्री विपिन आचार्य ले सोमबार जारी गरेको विज्ञप्तिमा प्रेस जगतलाई त्रसित पार्ने तथा मनोवैज्ञानिक दबाब सिर्जना गर्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताको भावनाविपरीत रहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा यस्ता घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिहरूको पहिचान गर्न तथा कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरिएको छ। साथै सञ्चार संस्थाहरूको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
रास्वपाले राज्यको चौथो अंगका रूपमा स्थापित सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निर्भीक रूपमा काम गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई त्रासमा राख्ने उद्देश्यका गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लङ्घन भएको जनाएको छ।
विज्ञप्तिमा लोकतान्त्रिक प्रणाली, विधिको शासन तथा पूर्ण प्रेस स्वतन्त्रताप्रति पार्टीको प्रतिबद्धता दोहोर्याउँदै नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको रक्षा गर्न रास्वपा सधैं दृढतापूर्वक उभिने उल्लेख गरिएको छ।
साथै कुनै पनि बहानामा सञ्चार स्वतन्त्रता कुण्ठित गर्ने, सञ्चार गृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा लोकतन्त्रको चौथो अंगलाई कमजोर पार्ने कुनै पनि गतिविधि आफूहरूलाई स्वीकार्य नहुने रास्वपाले स्पष्ट पारेको छ।
प्रतिक्रिया