बालेन–रवि चार घण्टा संवाद : सचिवालय पुनर्गठनदेखि सरकारको कार्यशैलीसम्म गम्भीर छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० असार २०८३, मंगलवार ०६:३८

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बीच आइतबार भएको करिब चार घण्टे लामो भेटवार्तामा सरकारको कार्यशैली, प्रधानमन्त्रीको सचिवालय तथा पार्टी–सरकारबीचको समन्वयका विषयमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ।

बूढानीलकण्ठस्थित सभापति लामिछानेको निवासमा भएको भेटमा पछिल्लो समय सरकार सञ्चालनको शैली र प्रधानमन्त्रीको सचिवालयको भूमिकाबारे विशेष रूपमा समीक्षा गरिएको बताइएको छ।

स्रोतका अनुसार जर्मन राहदानी छपाइ ठेक्का तथा त्यससँग जोडिएका कूटनीतिक विवादले सरकार र रास्वपाको सार्वजनिक छविमा नकारात्मक प्रभाव परेको भन्दै सभापति लामिछानेले असन्तुष्टि व्यक्त गरेका थिए।

छलफलका क्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र सूचना प्रविधि विज्ञ सुदिप ढकाल को भूमिकाप्रति समेत प्रश्न उठाइएको स्रोतको दाबी छ। पार्टीसँग थप प्रभावकारी समन्वय हुने गरी प्रधानमन्त्रीको सचिवालय पुनर्गठन गर्न र नयाँ टोली गठन गर्न सभापति लामिछानेले सुझाव दिएका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री साह सचिवालयका केही सदस्य परिवर्तन गर्न सकारात्मक देखिए पनि आफ्ना प्रमुख सल्लाहकार कुमार बेन लाई भने नहटाउने अडानमा रहेका थिए।

भेटको एक रोचक पक्षका रूपमा प्रधानमन्त्री साहसँगै सल्लाहकार कुमार बेन पनि लामिछाने निवास पुगेका थिए। तर बैठक सुरु हुनासाथ दुई नेताबीच मात्रै छलफल गर्ने भन्दै बेनलाई बाहिरिन आग्रह गरिएको स्रोतले जनाएको छ।

वार्ताका क्रममा सभापति लामिछानेले प्रमुख सल्लाहकार बेनको भूमिकाबारे पनि पुनर्विचार गर्न प्रस्ताव राखे पनि प्रधानमन्त्रीले कुमार बेन आफ्नो टोलीमै रहने स्पष्ट पारेका थिए।

भेटमा सरकारका समसामयिक कामकारबाहीसँगै रास्वपाको आन्तरिक विधान संशोधन, पदाधिकारी मनोनयन तथा पार्टीको भावी संरचनाबारे पनि छलफल भएको बताइएको छ। वरिष्ठ नेताको व्यवस्था र संसदीय दलको नेता फिर्ता बोलाउन सकिने प्रस्तावित व्यवस्थाले पार्टीभित्रको शक्ति सन्तुलनमा पार्ने प्रभावबारे पनि दुवै नेताबीच विचार आदान–प्रदान भएको स्रोतको भनाइ छ।

सुकुम्बासी व्यवस्थापन तथा गणेश नेपाली प्रकरणमा सरकारको कामप्रति सडक र सदनबाट उठिरहेका प्रश्नका विषयमा समेत छलफल भएको र ती विषयमा शीघ्र सुधार आवश्यक रहेको सुझाव सभापति लामिछानेले प्रधानमन्त्रीलाई दिएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor