काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले प्रश्न गर्ने हक र हिम्मत कसैले खोस्न नसक्ने बताएका छन्। सोमबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पुरानो घर रहेको रातोपुल क्षेत्रमा शंकास्पद रूपमा गाडी राखिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारमाथि प्रश्न उठाएका हुन्।
सभापति थापाले रातोपुलस्थित आफ्नो पुरानो घरअगाडि शंकास्पद ढंगले गाडी राखिएको र त्यसका चालक प्रशासनको गाडी चढेर गएको जानकारी स्थानीय प्रत्यक्षदर्शीबाट प्राप्त भएको दाबी गरे।
उनले भने, “मेरो पुरानो घरको मुखमा एउटा गाडी राखिएको रहेछ। स्थानीयका अनुसार गाडी राख्ने व्यक्ति प्रशासनको गाडी चढेर गएको जानकारी आएको छ। यसले सरकारको भूमिकामाथि नै प्रश्न उठाएको छ।”
थापाले प्रश्न गर्नेहरूको आवाज दबाउन सरकार नै सक्रिय भएको आरोप लगाए। “सरकार आफैं प्रश्न गर्नेहरूको मुख बन्द गर्न ओर्लिएको जस्तो देखिन्छ। यो अत्यन्तै गम्भीर र खेदजनक विषय हो,” उनले भने।
उनका अनुसार कुनै पनि नागरिक वा राजनीतिक दलको प्रश्न गर्ने अधिकार कसैले खोस्न सक्दैन। “हाम्रो प्रश्न गर्ने हक कसैले खोस्न सक्दैन, न हाम्रो हिम्मत नै कसैले खोस्न सक्छ। लोकतन्त्रमा प्रश्न उठाउनु नागरिकको अधिकार हो,” उनले स्पष्ट पारे।
रातोपुलमा भएको घटनालाई आफूलाई तर्साउने र मुख थुन्न खोजिएको प्रयासका रूपमा व्याख्या गर्दै थापाले सरकारले लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए।
“हामीले जहाँ आलोचना गर्नुपर्ने हुन्छ, त्यहाँ आलोचना गरेका छौँ। जहाँ प्रश्न गर्नुपर्ने हुन्छ, त्यहाँ प्रश्न गरेका छौँ। मेरो घरअगाडि गाडी राख्नु भनेको मेरो मुख थुन्न खोज्नु र प्रश्न उठाए परिणाम भोग्नुपर्छ भन्ने सन्देश दिन खोज्नु हो,” उनले भने।
थापाले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दै लोकतान्त्रिक अधिकारको संरक्षणमा कांग्रेस दृढतापूर्वक उभिने बताएका छन्।
प्रतिक्रिया