काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। निर्धारित कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुने र पर्सि निर्वाचन सम्पन्न गरिनेछ।
डिपी अर्याल लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखको उम्मेदवारका रूपमा अघि सारेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले अर्याललाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकमा पार्टी सभापति रवि लामिछाने ले अर्यालको नाम प्रस्ताव गरेका थिए।
सभामुखको निर्वाचन आइतबार हुने तय गरिएको छ। प्रतिनिधिसभामा रास्वपाको १८२ सिटसहित झन्डै दुईतिहाइ बहुमत रहेकाले अर्यालको जित लगभग निश्चित मानिएको छ। संविधानअनुसार सभामुख र उपसभामुखको निर्वाचन प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र गरिसक्नुपर्ने व्यवस्था छ।
निर्वाचन कार्यतालिका अनुसार आज (२० चैत) बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। सोही दिन साढे २ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिनेछ। २२ चैतमा बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उम्मेदवारलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्ने, समर्थकले समर्थन गर्ने र त्यसपछि सामूहिक छलफल गरी निर्णयार्थ प्रस्तुत गरिनेछ।
यसैबीच, राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि २३ चैतमा निर्वाचन हुने भएको छ। त्यसका लागि २२ चैतमा उम्मेदवारी मनोनयन दर्ता गराउनुपर्नेछ। पूर्व उपाध्यक्ष विमला घिमिरे को कार्यकाल २० फागुनमा सकिएपछि उक्त पद रिक्त रहेको छ।
त्यस्तै, राष्ट्रिय सभाअन्तर्गत चारवटा समिति सभापतिको पद पनि रिक्त रहेको छ। विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायक व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति चयनका लागि २४ चैतमा निर्वाचन हुनेछ भने २३ चैतमा उम्मेदवारी दर्ता गराइनेछ।
हाल राष्ट्रिय सभामा नेपाली कांग्रेस का २४, नेपाल कम्युनिस्ट पार्टी का १८ (अध्यक्षसहित), नेकपा एमाले का ११ (एक मनोनीत), जनता समाजवादी पार्टी का २ तथा लोसपा र जनमोर्चाका एक–एक सदस्य रहेका छन्।
प्रतिक्रिया