आजदेखि एसइई परीक्षा सुरु, थप कडाइ र पारदर्शितामा जोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०८२, बिहीबार ०६:४१

काठमाडौँ ।  आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ। यस वर्ष परीक्षालाई थप व्यवस्थित, पारदर्शी र छिटो नतिजा प्रकाशन गर्ने लक्ष्यसहित नयाँ निर्देशिका लागू गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले देशभर एकैपटक बिहान ८ बजेदेखि परीक्षा सञ्चालन गरेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार सबै केन्द्रमा एकै समयमा परीक्षा सुरु भएको छ।

यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी छन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका छन्। परीक्षामा छात्राको सङ्ख्या बढी रहेको छ।

देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएका छन् भने ११ हजार ३७९ विद्यालयका विद्यार्थी सहभागी छन्। जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जनाले समेत परीक्षा दिइरहेका छन्।

 तीन दिनमै उत्तरपुस्तिका परीक्षण गर्ने लक्ष्य

यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्ने योजना बनाइएको छ। ‘मार्कस्लिप प्रिन्ट’ गरी सुरक्षित रूपमा सम्बन्धित निकायमा बुझाउने व्यवस्था गरिएको छ।

उत्तरपुस्तिका परीक्षण केन्द्रमै बसेर गर्नुपर्ने, सिसिटिभी जडित कक्ष प्रयोग गर्नुपर्ने तथा मोबाइललगायत उपकरण निषेध गरिएको छ। अनियमितता गरेमा पुनः परीक्षण, पारिश्रमिक कटौती वा कारबाहीसमेत हुने व्यवस्था गरिएको छ।

 सामूहिक अनुगमनमा रोक

यस वर्ष परीक्षा हलमा भीडभाड र अवरोध रोक्न सामूहिक अनुगमन निषेध गरिएको छ। अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ।

 परीक्षा तालिका

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। त्यसपछि क्रमशः:

  • चैत २० गते: अनिवार्य नेपाली
  • चैत २२ गते: अनिवार्य गणित
  • चैत २३ गते: विज्ञान तथा प्रविधि
  • चैत २४ गते: सामाजिक अध्ययन
  • चैत २५–२६ गते: ऐच्छिक विषयहरू
  • चैत २७–२९ गते: प्राविधिक धारका विषयहरू

नयाँ व्यवस्थासँगै यस वर्षको एसइई परीक्षा विगतभन्दा थप व्यवस्थित र विश्वसनीय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply