विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ चैत्र २०८२, बुधबार ०७:०८

काठमाडौं ।  दीपक भट्ट विरुद्ध सरकारले कडा कदम चाल्दै उनलाई अध्यागमनको कालोसूचीमा राखेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को पत्रका आधारमा अध्यागमन विभाग ले सोमबार भट्टलाई कालोसूचीमा राखेको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अन्तिम चरणमा पुगेपछि यस्तो कदम चालिएको बताइएको छ।

कालोसूचीमा परेसँगै भट्टलाई विदेश यात्रा गर्न रोक लागेको छ। अब सम्बन्धित निकाय वा नेपाल सरकारको पूर्वस्वीकृति बिना विदेश जान नपाउने व्यवस्था लागू भएको छ।

भट्ट लामो समयदेखि विभिन्न सरकारसँग नजिक रहँदै सेना र प्रहरीका लागि रासन, पोसाक, हेलिकोप्टरदेखि हतियार आपूर्ति तथा जलविद्युत् लाइसेन्समा प्रभाव जमाउँदै आएको आरोप लाग्दै आएको छ। साथै करका दर हेरफेरमा समेत हस्तक्षेप गर्ने गरेको आरोप उनीमाथि छ।

भट्ट सुरक्षाकर्मीका लागि हतियार आपूर्ति गर्ने विदेशी कम्पनीका स्थानीय एजेन्टसमेत रहेको र सरकारी अधिकारीलाई प्रभावित पार्न खोजेको भिडियोसमेत सार्वजनिक भइसकेको बताइन्छ। उक्त भिडियोमा उनले आवश्यक परे नरेन्द्र मोदी लगायतलाई ‘मिलाउने’ दाबी गर्दै हतियार खरिद प्रक्रिया अघि बढाउन लबिइङ गरेको देखिन्छ।

यसैबीच जेनजी एलायन्स ले भट्टविरुद्ध निरन्तर कारबाहीको माग गर्दै आएको थियो। एलायन्सले भट्ट र उनको समूहले नीतिगत भ्रष्टाचार, सेटिङ र आर्थिक अनियमिततामार्फत देशलाई ठूलो नोक्सानी पुर्‍याएको भन्दै विभिन्न निकायमा उजुरीसमेत दिएको थियो।

भट्ट इन्फिनिटी होल्डिङ्स का प्रमुख हुन्। सार्वजनिक खरिद, जलविद्युत्, बैंक तथा बिमा क्षेत्रमा लाइसेन्स लिने र कर नीति प्रभावित गर्ने जस्ता गतिविधिमा संलग्न रहेको आरोप उनीमाथि लाग्दै आएको छ।

यसअघि नै उनीमाथि अनुसन्धान सुरु भइसकेको थियो र हाल उक्त अनुसन्धान अन्तिम चरणमा पुगेको जनाइएको छ।

प्रतिक्रिया

slot gacor