काठमाडौँ । नेपाली कांग्रेस भित्रको देउवा–कोइराला पक्षले गगन थापा लाई सभापतिको रूपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ।
पूर्वउपसभापति पूर्णबहादुर खड्का को अध्यक्षतामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बसेर विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई चुनौती दिइएको हो।
बैठकमा पार्टीका शीर्ष नेताहरूसहित करिब ८३ जना केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको जनाइएको छ।
बैठकमा बोल्ने १५ जना केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनका नाममा गगन थापाले आफूलाई सभापति घोषणा गरेको कार्यलाई ‘नाटक मञ्चन’ को संज्ञा दिएका छन्। यसबारे जानकारी दिँदै कांग्रेस नेता मानबहादुर नेपाली ले उक्त धारणा सार्वजनिक गरेका हुन्।
उनले सर्वोच्च अदालतको फैसला नआउन्जेलसम्म पार्टीको आन्तरिक विवाद स्थगन गरिएको भए पनि अर्को पक्ष संवेदनशील नभएको आरोप लगाए।
उनका अनुसार, घोषणापत्र लेख्ने र उम्मेदवार चयन गर्ने समयमा विशेष महाधिवेशनको नाममा गरिएको कदमले पार्टीलाई अन्योलमा पारेको छ। अब भने गगन थापालाई सभापतिका रूपमा स्वीकार गर्न नसकिने स्पष्ट गरिएको छ।
देउवा–कोइराला समूहले शेरबहादुर देउवा को नेतृत्वमा रहेको १२३ सदस्यीय केन्द्रीय समितिलाई नै आधिकारिक मान्ने निर्णय गरेको छ। अदालतको निर्णय नआउन्जेल उक्त समितिलाई सक्रिय बनाउने र गगन थापालाई सभापति नमान्ने रणनीति उनीहरूले लिएका छन्।
प्रतिक्रिया