नेपालगञ्ज । बाँकेको नेपालगञ्ज लगायत खुला सीमा क्षेत्रहरूमा बर्ड फ्लूको जोखिम देखिएपछि सम्बन्धित निकायहरूले उच्च सतर्कता अपनाएका छन्।
पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा. हरेराम यादव का अनुसार भारतबाट अवैध रूपमा ल्याइने कुखुराका चल्ला र सेतो अण्डा दैनिकजसो नियन्त्रणमा लिई नष्ट गरिँदै आएको छ। उनले हालसम्म जिल्लामा बर्ड फ्लू पुष्टि नभए पनि जोखिम उच्च रहेकाले आयातमा पूर्ण रोक लगाइएको जानकारी दिए।
“खुला सीमा क्षेत्रबाट कुखुराका चल्ला र अण्डा ल्याउने प्रयास भइरहन्छ, तर प्रहरी देखेपछि छाडेर भाग्ने गरेका छन्,” उनले भने।
सरकारले भारतबाट कुखुराका चल्ला तथा सेतो अण्डा आयातमा प्रतिबन्ध लगाएको छ। सोही अनुसार आन्तरिक ढुवानी तथा निगरानीमा कडाइ गरिएको छ। कार्यालयका अनुसार दैनिक रूपमा करिब २० देखि २५ वटा ब्रोइलर भारतीय कुखुरा नष्ट गरिँदै आएको छ।
त्यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका वरिष्ठ पशु विकास अधिकृत डा. गणेशबहादुर पुन ले पनि चल्ला आयातमा कडाइ गरिएको र निगरानी बढाइएको बताए।
बाँके जिल्लामा सुइया, बगौँडा, खडैँचा, जमुनाहलगायतका खुला सीमा नाकाहरू रहेका कारण जोखिम बढेको छ। सम्बन्धित निकायहरूले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन्।
प्रतिक्रिया