काठमाडौं । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय आसपासबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ टोलीले आज ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार यातायात कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती तथा अवरोध सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
ललितपुर प्रहरीले जारी गरेको सूचनामा पक्राउ परेकाहरूलाई हाल प्रहरी वृत्त सातदोबाटोमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उल्लेख गरिएको छ।
प्रहरीले यस्ता अवैध गतिविधि नियन्त्रण गर्न नियमित अनुगमन र कारबाहीलाई अझ कडा बनाउने जनाएको छ।
प्रतिक्रिया