काठमाडौं । नोरा फतेही र सञ्जय दत्त अभिनित कन्नड चलचित्र केडी: द डेभिल को एक गीतलाई लिएर विवाद चर्किँदै कानुनी र राजनीतिक मोडमा पुगेको छ।
विवादको केन्द्रमा रहेको ‘आइटम नम्बर’ गीत सरके चुनर तेरी सरके हो। मूल रूपमा कन्नड भाषामा तयार गरिएको गीतको हिन्दी संस्करण सार्वजनिक भएसँगै यसको बोल र दृश्यलाई लिएर आलोचना सुरु भएको हो।
आलोचकहरूका अनुसार गीतका शब्दहरू भद्दा, द्विअर्थी र यौनजन्य आशयका छन्, जसले महिलाको गरिमामा असर पुर्याएको छ। सामाजिक सञ्जालमा यसको विरोध तीव्र बन्दै गएको छ।
विवाद बढेपछि भारतको सूचना तथा प्रसारण मन्त्रालयले केन्द्रीय फिल्म प्रमाणन बोर्डलाई कडा निर्देशन दिएको छ। त्यसपछि गीतको हिन्दी संस्करण युट्युब तथा अन्य डिजिटल प्लेटफर्मबाट हटाइएको छ।
यसैबीच १० जना वकिलहरूको समूहले गृह मन्त्रालयमा निवेदन दिँदै नोरा फतेहीको ‘श्रम स्वीकृति’ रद्द गर्न र उनलाई भारतबाट निकाला गर्न माग गरेका छन्। उनीहरूले विदेशी कलाकारले भारतीय संस्कृति र शालीनतामा असर पार्न नहुने तर्क गरेका छन्।
राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगले पनि उजुरी प्राप्त गरेपछि सम्बन्धित पक्षलाई स्पष्टीकरणका लागि बोलाएका छन्।
विवादपछि नोरा फतेहीले भिडियो सन्देशमार्फत आफ्नो बचाउ गर्दै उक्त गीत तीन वर्षअघि कन्नड भाषामा छायांकन गरिएको र त्यसबेला अर्थ सामान्य बताइएको दाबी गरेकी छन्। हिन्दी संस्करण तयार गर्दा निर्माण पक्षले आफूलाई नसोधेको उनको भनाइ छ।
उनले गीतको प्रमोसनमा आफ्नो र सञ्जय दत्तको एआइ–निर्मित तस्बिर बिना अनुमति प्रयोग गरिएको भन्दै आपत्ति जनाएकी छिन्। साथै हिन्दी संस्करण सार्वजनिक भएपछि आफूले विरोध जनाएको र प्रमोसनमा सहभागी नभएको स्पष्ट पारेकी छन्।
हिन्दी गीतका लेखक रकीब आलमले विवादित शब्द आफूले नलेखेको दाबी गरेका छन् भने निर्देशक प्रेम ले सार्वजनिक रूपमा माफी माग्दै गीत सच्याउने प्रतिबद्धता जनाएका छन्।
आगामी अप्रिल ३०, २०२६ मा प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रमा ध्रुव सर्जा, सञ्जय दत्त र शिल्पा शेट्टी को अभिनय रहेको छ।
यो घटनाले भारतीय मनोरञ्जन क्षेत्रमा सेन्सरसिप, सांस्कृतिक संवेदनशीलता र कलाकारको सिर्जनात्मक स्वतन्त्रताबीचको सन्तुलनबारे नयाँ बहस सुरु गराएको छ।
प्रतिक्रिया