बागलुङ । बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्टे लेक पछिल्लो समय थप चर्चामा आउन थालेको छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक पहिचानको संगमस्थलका रूपमा रहेको यस क्षेत्रले स्थानीय तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्दै आएको छ।
समुन्द्री सतहदेखि उच्च भू–भागमा अवस्थित यस लेकबाट धौलागिरी हिमाल र अन्नपूर्ण हिमाल लगायतका हिमश्रृंखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। शान्त वातावरण, हरियाली वनजंगल तथा आकर्षक सूर्योदय–सूर्यास्तले पर्यटकलाई लोभ्याउने गरेको छ, जसले घुम्टेलाई पश्चिम नेपालकै सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ।
धार्मिक दृष्टिले पनि यस क्षेत्र उत्तिकै महत्वपूर्ण मानिन्छ। यहाँ अवस्थित सिद्धबाबा मन्दिर मा वैशाखे पूर्णिमाको अवसरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ। सोही अवसरमा मनाइने बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमा मेलाले धार्मिक आस्थासँगै स्थानीय कला–संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। मेलामा सती घाटु, सोरठी, सालैजो, यानिमाया जस्ता लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिँदै आएका छन्।
स्थानीय सामाजिक संस्थाहरूले सरसफाइ अभियान, मेला व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै घुम्टे क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका खेलिरहेका छन्। यस्ता पहलहरूले समुदायमा एकता र सहकार्यको भावना समेत मजबुत बनाएको छ।
यद्यपि, घुम्टे लेकको पूर्ण सम्भावना उपयोग गर्न अझै चुनौतीहरू कायमै छन्। पहुँचमार्ग सुधार, पर्यटकमैत्री पूर्वाधार निर्माण, प्रभावकारी फोहोर व्यवस्थापन तथा व्यापक प्रचार–प्रसार आवश्यक देखिन्छ। सरोकारवाला निकाय र स्थानीय समुदायबीच सहकार्य बढाउन सके यस क्षेत्रलाई दिगो पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने विश्वास गरिएको छ।
प्रतिक्रिया