काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ।
संघीय संसद सचिवालय अन्तर्गत सांसद सुविधा शाखाले सूचना जारी गर्दै सम्पत्ति विवरण पेश गर्न सबै सांसदलाई निर्देशन दिएको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क (१) अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले आफू र आफ्नो परिवारको सम्पत्ति विवरण तोकिएको निकायसमक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। यी दुवै ऐनले पदभार सम्हालेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने स्पष्ट व्यवस्था गरेका छन्।
उक्त व्यवस्था अनुरूप प्रतिनिधिसभाका सदस्यहरूले आर्थिक वर्ष २०८१/०८२ सम्मको अद्यावधिक सम्पत्ति विवरण सिलबन्दी खाममा पेश गर्नुपर्नेछ। सचिवालयले तोकेको स्थान—सांसद सुविधा व्यवस्थापन शाखा (भवन नं. १, कोठा नं. २०७)—मा कार्यालय समयभित्र विवरण दर्ता गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूले चैत १२ गते शपथ ग्रहण गरेका थिए। सोही मितिलाई आधार मानेर ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने समयसीमा निर्धारण गरिएको हो।
प्रतिक्रिया