देशभर आंशिकदेखि सामान्य बदली, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०८२, सोमबार ०७:१४

काठमाडौं । आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई वर्षा र हिमपातको सम्भावनाप्रति सतर्क रहन सुझाव दिइएको छ।

दिउँसो देशका पहाडी र हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने मौसमविद्हरूले बताएका छन्। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

यस्तै, मधेश प्रदेशसहित कोशी प्रदेशको तराई भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च भू–भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

मौसमविद्हरूले मेघगर्जन र चट्याङको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्। साथै, पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा कृषिमा सम्भावित असरलाई ध्यानमा राखेर आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया

Leave a Reply