सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै आएको छ। प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा फैलिएको यो तालमा दैनिक रूपमा पर्यटकको घुइँचो लाग्ने गरेको छ।
तालको विशेषता भनेको मनोरम दृश्यावलोकनसँगै दिनभर फिसिङ (माछा मार्ने) सुविधा उपलब्ध हुनु हो। यही कारणले धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगन्ज र भारतका विभिन्न स्थानबाट समेत पर्यटक पुग्ने गर्छन्। वनभोजका लागि उपयुक्त यो क्षेत्रमा एकैपटक १४५ समूहसम्म व्यवस्थापन गर्न सकिने संरचना तयार गरिएको छ।
सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने ६१ हेक्टर क्षेत्रफलमध्ये करिब आठ हेक्टरमा फैलिएको ताललाई स्थानीय पहलमा २०७१ सालदेखि पर्यटकीय नमुना क्षेत्रका रूपमा विकास गर्न थालिएको हो। कोशी प्रदेश पर्यटन मन्त्रालयले २०७७/७८ को बजेटअन्तर्गत भ्यूटावर, इमानसिंह चेम्जोङको सालिक निर्माण तथा २९ हेक्टर क्षेत्रमा तारबार गर्ने काम गरेको छ।
तालमा माछा मार्न रु तीन सय शुल्क तिरेपछि बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म अनुमति छ। पर्यटकले समातेको माछा आफैँ लैजान पाउँछन्। तालमा कमलकार, ग्रास, रहु, नौनीलगायत सात प्रजातिका माछा पाइन्छ। साथै बोटिङ, चिडियाघर अवलोकन र टापु–काठका पुलमार्फत घुम्ने सुविधा पनि उपलब्ध छ।
पिकनिक तथा बोटिङबाट वार्षिक रूपमा रु छदेखि सात लाखसम्म आम्दानी हुने गरेको छ, जसले ताल संरक्षण र पूर्वाधार विकासमा खर्च भइरहेको छ। पर्यटक आगमनसँगै आसपासका खाजा, नास्ता पसल तथा अन्य व्यवसायसमेत चलायमान बनेका छन्। स्थानीयले भनेका अनुसार केही पूर्वाधार निर्माण अझै अधुरो छ, त्यसका लागि प्रदेश र स्थानीय सरकारबाट थप लगानी आवश्यक छ।
रास ताल महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै, पर्यावरणीय संरक्षणसँगै स्थानीय अर्थतन्त्रमा ठोस योगदान पुर्याइरहेको छ।
प्रतिक्रिया