रास्वपाको महाधिवेशनमा पुरानै नेतृत्व दोहोरिने संकेत, रवि लामिछाने नै सभापतिमा निरन्तर रहने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०८३, शुक्रबार ०५:१८

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी पहिलो महाधिवेशनबाट केन्द्रीय, प्रदेश र जिल्ला तहको नेतृत्वमा अधिकांश पुरानै अनुहार दोहोरिने सम्भावना बलियो बनेको छ। पार्टी स्थापनादेखि तदर्थ समितिको नेतृत्व गर्दै आएका सभापति रवि लामिछाने नै पुनः सर्वोच्च पदमा निरन्तर रहने लगभग निश्चित भएको नेताहरूले बताएका छन्।

पार्टीभित्र राजनीतिक सहमतिका आधारमा वरिष्ठ नेताको जिम्मेवारी पाएका बालेन्द्र शाह को भूमिका पनि महाधिवेशनपछि यथावत् रहने चर्चा छ। यसअघि कार्यवाहक सभापतिसमेत रहेका उपसभापति डीपी अर्याल हाल सभामुखको भूमिकामा छन्। विधानमा एक महिलासहित तीन उपसभापतिको व्यवस्था भए पनि हालका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पुनः सोही पदमा सर्वसम्मत दोहोरिने तयारीमा रहेको स्रोतले जनाएको छ।

रास्वपाको वर्तमान विधानमा एक महामन्त्रीको व्यवस्था भए पनि राजनीतिक सहमतिका कारण अहिले दुई महामन्त्री कार्यरत छन्। सहमहामन्त्री विपीनकुमार आचार्य नेतृत्वको विधान संशोधन समितिले विधान परिमार्जन गरी दुई महामन्त्रीको व्यवस्था गर्न लागेको बताइएको छ। हाल कविन्द्र बुर्लाकोटीभूपदेव शाह महामन्त्रीको भूमिकामा छन्। बुर्लाकोटीको निरन्तरताबारे केही अन्योल भए पनि शाहले पुनः जिम्मेवारी पाउने सम्भावना बलियो रहेको नेताहरू बताउँछन्।

पछिल्लो समय पार्टीको सांगठनिक संरचनामा करिब २० प्रतिशत हिस्सा बालेन पक्षको रहेको चर्चा छ। मूलधारका पुराना कार्यकर्ताभन्दा बालेन निकट व्यक्तिहरूले छिटो जिम्मेवारी पाउने गरेको भन्दै केही नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। तर, चार वर्षदेखि संगठन निर्माणमा सक्रिय मूलधार नै अझै सांगठनिक रूपमा बलियो रहेकाले चुनाव भए बालेन पक्षलाई चुनौतीपूर्ण हुने विश्लेषण गरिएको छ।

महाधिवेशनमा नेतृत्व चयन सहमति वा निर्वाचनमार्फत गर्ने विषयमा पार्टीभित्र बहस जारी छ। रास्वपाको विधान अनुसार पहिलो चरणमा सभापतिसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने दोस्रो चरणमा ती सदस्यहरूले पदाधिकारी चयन गर्नेछन्। नेताहरूले भने प्रमुख पदहरू सर्वसम्मत रूपमा टुंग्याउने तयारी गरिरहेका छन्।

प्रदेश तहमा पनि अधिकांश पुराना सभापतिहरू पुनः दोहोरिने इच्छामा छन्। कोशीका तपेश्वर यादव, बागमतीका डा. अच्युत्तम लामिछाने, कर्णालीका मदन खड्का र सुदूरपश्चिमका प्रकाश विष्ट पुनः नेतृत्वमा रहने तयारीमा देखिएका छन्। गण्डकी र लुम्बिनी प्रदेशका सभापतिहरू भने केन्द्रमा आउने दौडमा रहेको बताइएको छ।

रास्वपाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसपछि जेठ २६ देखि असार १ गतेसम्म सातै प्रदेशको अधिवेशन सम्पन्न गरिनेछ भने पार्टी स्थापना भएको चार वर्ष पूरा भएको अवसरमा असार ७ देखि ९ गतेसम्म काठमाडौँमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ।

प्रतिक्रिया

Leave a Reply