काठमाडौँ। डा. स्वर्णिम वाग्ले ले रामचन्द्र पौडेल लाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट (राजश्व र व्ययको वार्षिक अनुमान) का मुख्य प्राथमिकता, नीति तथा सिद्धान्तबारे जानकारी गराएका छन्।
बिहीबार अपराह्न शीतल निवास पुगेर अर्थमन्त्री वाग्लेले राष्ट्रपतिसमक्ष आगामी बजेटका विषयमा विस्तृत ब्रिफिङ गरेका हुन्। संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्मा बजेट प्रस्तुत गर्नुअघि राष्ट्रप्रमुखलाई बजेटका नीति, कार्यक्रम तथा मार्गदर्शनबारे जानकारी गराउने परम्परा रहिआएको छ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले संसद्मा पेस भइसकेको आर्थिक वर्ष २०८२/८३ को ‘आर्थिक सर्वेक्षण’ तथा ‘सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन’ समेत राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका थिए।
अर्थ मन्त्रालयले बजेट निर्माणको कार्यलाई अन्तिम रूप दिइसकेको जनाएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेट भोलि (जेठ १५ गते शुक्रबार) अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
यसपटकको बजेट वर्तमान अर्थतन्त्रका चुनौतीहरूलाई सम्बोधन गर्ने, उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकता दिने तथा रोजगारी, कृषि, उद्योग र पूर्वाधार क्षेत्रमा केन्द्रित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया