काठमाडौँ । भनाइ नै छ, “हरेक दिन एउटा स्याउ खानुहोस् र डाक्टरलाई टाढै राख्नुहोस्।” स्याउ हाम्रो स्वास्थ्यका लागि कति फाइदाजनक छ भन्ने कुरा यो उखानले नै स्पष्ट पार्छ। तर, यसलाई खाने सही समय र तरिका नमिल्दा अपेक्षित लाभ नपाउन सकिन्छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिहान खाली पेटमा एउटा स्याउ खाने बानीले शरीरमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। स्याउमा भिटामिन सी, पोटासियम, फाइबर तथा विभिन्न एन्टिअक्सिडेन्ट तत्व प्रशस्त मात्रामा पाइन्छन्।
स्याउमा पाइने ‘पेक्टिन’ नामक घुलनशील फाइबरले आन्द्राको कार्यक्षमता सुधार गर्न मद्दत गर्छ। बिहान खाली पेटमा स्याउ खाँदा कब्जियत, पेट फुल्ने तथा ग्यास्ट्रिकको समस्या कम हुन सहयोग पुग्छ।
तौल घटाउन चाहनेहरूका लागि स्याउ उपयोगी मानिन्छ। यसमा क्यालोरी कम र फाइबर बढी हुने भएकाले लामो समयसम्म पेट भरिएको अनुभूति हुन्छ। यसले अनावश्यक धेरै खाना खाने बानी कम गर्न मद्दत गर्छ।
स्याउमा रहेका एन्टिअक्सिडेन्ट र फाइबरले खराब कोलेस्ट्रोल (LDL) घटाउन सहयोग पुर्याउँछन्। यसले रक्तसञ्चार सुधार गरी मुटुसम्बन्धी रोगको जोखिम कम गर्न मद्दत गर्छ।
भिटामिन ‘सी’ र अन्य पोषक तत्वले शरीरको रोगसँग लड्ने क्षमता मजबुत बनाउँछन्। नियमित स्याउ सेवनले रुघाखोकी, भाइरल संक्रमण तथा मौसमी रोगबाट बच्न सहयोग पुग्न सक्छ।
मधुमेह भएका व्यक्तिका लागि पनि स्याउ लाभदायक मानिन्छ। यसमा पाइने फाइबरले रगतमा चिनीको मात्रा एक्कासि बढ्न नदिई सन्तुलनमा राख्न मद्दत गर्छ।
नियमित रूपमा स्याउ सेवन गर्दा शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निस्कन सहयोग पुग्छ। यसले रगत सफा गरी छालालाई स्वस्थ, चम्किलो र ताजा बनाउन मद्दत गर्न सक्छ।
विशेषज्ञहरूका अनुसार स्याउ सधैँ राम्रोसँग पखालेर बोक्रासहित खानु उपयुक्त हुन्छ, किनभने बोक्रामा धेरै फाइबर र पोषक तत्व हुन्छन्। बजारमा पाइने केही स्याउमा चमक ल्याउन ‘वैक्स’ प्रयोग गरिएको हुन सक्ने भएकाले मनतातो पानीले राम्ररी सफा गरेर खान सुझाव दिइन्छ।
बिहानको सुरुवात चिया वा कफीको सट्टा एउटा ताजा स्याउ बाट गर्न सके शरीर दिनभर ऊर्जावान् र ताजा रहन सहयोग पुग्न सक्छ।
नोट : यदि तपाईंलाई गम्भीर ग्यास्ट्रिक, एलर्जी वा अन्य स्वास्थ्य समस्या छ भने खानपानमा परिवर्तन गर्नुअघि चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ।
प्रतिक्रिया