काठमाडौं । नेपाल आयल निगम का कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट ले शनिबार दिउँसो काठमाडौंको कलंकी चोक स्थित डिभाइडरमा सरकारी गाडी ठोक्काएका छन्।
दिउँसो करिब २ बजेतिर भएको उक्त घटनामा भट्ट आफैंले चलाएको सरकारी नम्बर प्लेटको गाडी कंक्रिट डिभाइडरमा चढेको अवस्थामा फेला परेको थियो। घटनापछि स्थानीयले गाडी र चालकलाई घेरेका थिए भने ट्राफिक प्रहरी पुगेर उनलाई नियन्त्रणमा लिएको थियो।
कलंकी ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजीव बस्नेतका अनुसार दुर्घटनापछि गाडीको अगाडिको भागमा ठुलो क्षति पुगेको छ। “कंक्रिटको डिभाइडरमाथि गाडी चढेको अवस्थामा नियन्त्रणमा लिएका हौँ,” उनले बताए।
स्थानीयले मादक पदार्थ सेवन गरेर गाडी चलाएको आशंका गर्दै कारबाहीको मागसहित नाराबाजी गरेका थिए। तर, ट्राफिक प्रहरीले गरेको परीक्षणमा भट्टले मादक पदार्थ सेवन नगरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार गाडी तीव्र गतिमा आएर डिभाइडरमा ठोक्किएको थियो। लेन मिचेर अघि बढ्न खोजेपछि स्थानीयले रोकेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया