काठमाडौं । जेन–जी आन्दोलनका क्रममा बल प्रयोग गरी दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरी गणमा राख्ने तयारी गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई महाराजगञ्जस्थित २ नम्बर गणमा थुनामा राखिनेछ।
प्रहरीले दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ। परीक्षणपछि उनीहरूलाई प्रहरी गणमा लैजाने तयारी गरिएको छ।
सरकारको निर्देशनपछि प्रहरीले शनिबार बिहान जरुरी पक्राउ पूर्जी जारी गर्दै उनीहरूलाई निवासबाटै नियन्त्रणमा लिएको हो। जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूमाथि मुलुकी अपराध संहिताको दफा १८१ र १८२ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
उक्त व्यवस्थाअनुसार लापरबाहीपूर्वक काम गर्दा ज्यान जान नहुने कसुरमा अनुसन्धान गरिनेछ। आयोगले जेन–जी आन्दोलनका क्रममा भएको मानवीय क्षतिमा उनीहरूको लापरबाही प्रमुख कारण रहेको निष्कर्ष निकालेको छ।
प्रहरीका अनुसार आइतबार उनीहरूलाई अदालतमा उपस्थित गराइ बयान प्रक्रिया सुरु गरिनेछ।
प्रतिक्रिया