काठमाडौँ । ‘जेनजी’ आन्दोलनपछि विघटन भएको प्रतिनिधिसभा आज (१२ चैत २०८२) देखि नयाँ राजनीतिक सन्तुलनसहित पुनः सक्रिय भएको छ। पछिल्लो निर्वाचनले मुलुकको शक्ति संरचनामा ठूलो परिवर्तन ल्याएको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित पहिलो दल बनेको छ भने नेपाली कांग्रेस ३८ सिटमा सीमित भएको छ। नेकपा (एमाले) २५ सिटसहित तेस्रो स्थानमा झरेको छ। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन्।
सांसदहरूको शपथ ग्रहणलगत्तै एमालेले च्यासलस्थित पार्टी कार्यालयमा सांसदहरूलाई ‘ब्रिफिङ’ गरेको थियो, जहाँ अध्यक्ष केपी शर्मा ओली ले सम्बोधन गरेका थिए।
बैठकपछि एक सांसदले ओलीको सम्बोधनमा आत्मआलोचनाभन्दा पनि ‘अहंकार झल्किएको’ प्रतिक्रिया दिएका छन्। ओलीले पार्टी नेतृत्वविरुद्ध नबोल्न निर्देशन दिँदै प्रतिकूल अवस्थामा आन्तरिक विवाद नउठाउन आग्रह गरे।
संसदमा व्यक्तिगत धारणा नराखी पार्टीको आधिकारिक विचार मात्रै प्रस्तुत गर्नुपर्ने भन्दै उनले सांसदहरूलाई कडा निर्देशन दिए। ‘हामी आफूखुसी डम्फु बजाउन त्यहाँ पुगेका होइनौँ,’ उनले भने।
निर्वाचन परिणामबारे टिप्पणी गर्दै ओलीले यसलाई ‘अस्वाभाविक’ र ‘जादुमय’ बताएका छन्। एमालेमाथि असत्य र अश्लील प्रचार भएको तर त्यसको प्रभावकारी प्रतिवाद गर्न नसकिएको स्वीकार्दै उनले पार्टीले त्यसबाट पाठ सिक्नुपर्ने बताए।
रास्वपाप्रति टिप्पणी गर्दै उनले कडा अभिव्यक्ति पनि दिएका छन्। तथापि, एमाले अझै पनि तेस्रो शक्ति कायम रहेको दाबी गर्दै उनले पार्टी कमजोर नभएको जिकिर गरे।
‘हामी केही खस्किएका छौँ, तर समाप्त भएका छैनौँ। जनताको साथ लिएर पुनः अघि बढ्छौँ,’ उनले भने।
प्रतिक्रिया