काठमाडौँ । मुलुकले आज (शुक्रबार) नयाँ प्रधानमन्त्री पाउने भएको छ। रामचन्द्र पौडेल ले राष्ट्रपति कार्यालय शीतल निवासमा बालेन्द्र शाह लाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।
शपथअघि शाहलाई प्रधानमन्त्रीमा औपचारिक रूपमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो।
राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोह अपराह्न आयोजना हुनेछ। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोग, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले १८२ सिट जितेको थियो। सोही दलले बिहीबार शाहलाई संसदीय दलको नेतामा चयन गरेको हो।
प्रतिनिधिसभा निर्वाचनमा शाह झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मतसहित निर्वाचित भएका थिए। यसअघि अर्जुननरसिंह केसी ले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।
प्रतिक्रिया