काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका र अमेरिकाको ह्यारिसनभिल सिटीबीच भगिनी सम्बन्ध स्थापना गर्ने समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ। नगरपालिका परिसरमा आयोजित विशेष कार्यक्रममा कागेश्वरी मनोहराको तर्फबाट मेयर उपेन्द्र कार्की र ह्यारिसनभिल सिटीको तर्फबाट मेयर माइक जारिङले हस्ताक्षर गरेका हुन्।
नगरप्रमुख कार्कीले यस अवसरमा भने, “आपरसी विश्वास र सम्मानको आधारमा गरिएको सम्झौताले शिक्षा, स्वास्थ्य, सामाजिक कल्याण र सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा दुवै सहरबीच सहकार्य र सहयोग सुनिश्चित गर्नेछ। सहकार्यमार्फत नागरिकबीच अनुभव र ज्ञान आदान–प्रदान प्रवर्द्धन हुनेछ र दीर्घकालीन मित्रता स्थापना हुनेछ।”
सम्झौताअनुसार दुवै सहरले आपसी संस्कृति, परम्परा र इतिहासको सम्मान गर्दै विभिन्न आदान–प्रदान कार्यक्रमहरू सञ्चालन गर्नेछन्। भविष्यमा थप सहकार्य र अनुभव आदान–प्रदानका गतिविधि सञ्चालन हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा मेयर जारिङको फूलमालासहित स्वागत गरिएको थियो। विद्यार्थीहरूले विभिन्न जातीय र सांस्कृतिक भेषभुषामा आकर्षक नृत्य प्रस्तुत गरी समारोहको माहोल रोचक बनाएका थिए।
प्रतिक्रिया