काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव नियुक्त भएका आदर्श श्रेष्ठ ले बुधबार पदभार ग्रहण गरेका छन्।
खुमलटारस्थित कोषको कार्यालय पुगेर उनले पदभार सम्हालेका हुन्। उनलाई कोषका सदस्यसचिव डा. नरेश सुवेदी ले स्वागत गरेका थिए।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की ले गत १ चैतमा श्रेष्ठलाई पाँच वर्षका लागि अध्यक्ष नियुक्त गरेकी थिइन्। तर, नयाँ सरकार गठनको तयारी भइरहेका बेला यस्तो नियुक्ति भएपछि चौतर्फी आलोचना भएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार प्रधानमन्त्री कोषको संरक्षक रहने व्यवस्था भए पनि लामो समयदेखि वनमन्त्री नै अध्यक्ष रहने परम्परा रहँदै आएको थियो। तर यसपटक उक्त परम्परा तोड्दै पिएलाई अध्यक्ष बनाइएको हो।
यसअघि पनि केपी शर्मा ओली नेतृत्वको सरकारले वनमन्त्रीलाई पन्छाएर अन्य व्यक्तिलाई अध्यक्ष बनाउँदा विवाद भएको थियो।
आलोचनाका बीच श्रेष्ठले पदभार सम्हालेका हुन्। जानकारीअनुसार कोषका अध्यक्षले पारिश्रमिक नपाए पनि गाडी, चालक, बैठक भत्ता तथा कोषकै खर्चमा स्वदेश तथा विदेश भ्रमणको सुविधा पाउँछन्। साथै, एक करोड रुपैयाँभन्दा माथिको खर्च स्वीकृत गर्ने अधिकार पनि अध्यक्षसँग रहने व्यवस्था छ।
प्रतिक्रिया