काठमाडौं । रवि लामिछाने ले ‘जेनजी आन्दोलन’का क्रममा कारागार प्रशासनकै कारण आफू बाहिरिनुपरेको दाबी गरेका छन्।
जाँचबुझ आयोगसमक्ष दिएको बयानमा उनले अदालतको आदेश बिना कारागारबाट निस्कन अस्वीकार गरे पनि प्रशासनले परिस्थितिका कारण बाहिर पठाएको बताएका हुन्।
उनका अनुसार भदौ २४ गते कारागार बाहिर ठूलो भीड जम्मा भएपछि सुरक्षा निकायका प्रतिनिधिहरूले परिवार तथा पार्टीको जिम्मामा बाहिर पठाउनुपर्ने अवस्था आएको जानकारी दिएका थिए। “मैले अदालतको आदेश बिना बाहिर निस्कन अस्वीकार गरेँ, तर प्रशासनको आग्रहपछि प्राङ्गणमै रहेर भीडलाई सम्बोधन गर्न तयार भएँ,” उनले भनेका छन्।
लामिछानेले भीडले धकेल्दै आफूलाई कारागार बाहिर पुर्याएको र त्यसपछि नजिकैको भवनबाट शान्ति र संयम अपनाउन अपिल गरेको बताएका छन्।
उनले कारागार प्रशासनले थुनामुक्त गर्ने पत्र तयार गरिरहेको भए पनि आफू त्यस प्रक्रियामा संलग्न नरहेको स्पष्ट पारे। “पत्र तयार नहुँदै भीडले बाहिर लग्यो, त्यसमा मेरो कुनै भूमिका छैन, त्यसैले त्यसको जिम्मेवारी जेल प्रशासनकै हो,” उनले भने।
उनले उक्त घटनामा आफ्नो वा राष्ट्रिय स्वतन्त्र पार्टी को कुनै संलग्नता नरहेको दाबी गर्दै यदि कसैको संलग्नता भेटिए कडा कारबाही गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
कारागारबाट बाहिरिएपछि आफू सुरक्षित स्थानमा पुगेको र सुरक्षा निकायका प्रमुखहरूलाई जानकारी गराएको उनले बताएका छन्। साथै भदौ २८ गते पुनः नख्खु कारागार फर्किएको जानकारी पनि दिएका छन्।
लामिछानेले यस घटनाबाट सिक्दै कारागार सुधार, कैदीबन्दीको मानसिक स्वास्थ्य, कानुनी परामर्श प्रणाली सुदृढीकरण र खुला कारागार नीति लागू गर्नुपर्ने सुझावसमेत दिएका छन्।
प्रतिक्रिया