काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ का वरिष्ठ उपाध्यक्ष तथा आगामी अध्यक्ष अञ्जन श्रेष्ठ ले निजी क्षेत्रको एकता मजबुत बनाउन सबै व्यवसायी एकजुट हुनुपर्ने बताएका छन्।
सोमबार श्रेष्ठ समूहका पदाधिकारी तथा कार्यकारिणी सदस्य घोषणा समारोहमा बोल्दै उनले पछिल्लो समय निजी क्षेत्रभित्र एकता कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे।
उनका अनुसार व्यवसायीहरू राजनीतिक दलको सदस्यता लिएर सार्वजनिक रूपमा दलगत धारणा व्यक्त गर्नु नै एकता कमजोर हुनुको मुख्य कारण बनेको छ। “निजी क्षेत्रको एकताको लागि एक हुन आवश्यक छ, तर दलगत सोचले हाम्रो एकता कमजोर बनाएको छ,” उनले भने।
श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ का पदाधिकारीहरू कुनै पनि राजनीतिक दलको सदस्य नरहने व्यवस्था आवश्यक रहेको बताउँदै आगामी कार्यकालमा यसलाई विधानमै समावेश गर्ने पहल गर्ने जानकारी दिए।
उनले जिल्ला उद्योग वाणिज्य संघ, वस्तुगत महासंघ तथा महासंघका सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई पनि दलगत राजनीतिबाट टाढा राख्नुपर्ने प्रस्ताव अघि सारे।
नयाँ सरकार गठनको प्रक्रियासँगै देश परिवर्तन, रूपान्तरण र पुस्तान्तरणको चरणमा प्रवेश गरेको उल्लेख गर्दै उनले निजी क्षेत्रले पनि आफ्ना कमजोरी सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।
“हामीले विगतमा सरकारलाई आलोचना मात्र गर्ने प्रवृत्ति देखायौं, अब आत्मसमीक्षा गर्दै सुधारतर्फ अघि बढ्नुपर्छ,” उनले भने।
यसैगरी उनले जिल्ला उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धि, स्रोत व्यवस्थापन र समन्वय सुदृढीकरणमा जोड दिँदै प्रदेश तथा केन्द्र सरकारसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको बताए।
प्रतिक्रिया