तनहुँको सिद्ध गुफा : नौ तले अद्भुत प्राकृतिक सम्पदा, प्रवर्द्धन अझै चुनौतीपूर्ण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०८२, सोमबार ०६:५८

काठमाडौँ ।  सिद्ध गुफा तनहुँको भिमाद नगरपालिका–९ धन्दुरस्थित नौ तले संरचनामा फैलिएको अनौठो प्राकृतिक सम्पदा हो। पृथ्वी राजमार्ग अन्तर्गत भिमाद चोकबाट करिब १० किलोमिटर दूरीमा रहेको यो गुफामा अपेक्षित रूपमा पर्यटक भित्र्याउन भने अझै चुनौती देखिएको छ।

गुफा क्षेत्रको पूर्वाधार विकाससँगै यसको प्रवर्द्धनमा नगरपालिका सक्रिय रहेको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी ले जानकारी दिएका छन्। उनका अनुसार ऐतिहासिक तथा धार्मिक महत्व बोकेको यस गुफामार्फत क्षेत्रको पर्यटन विकास गर्ने लक्ष्य राखिएको छ।

सिद्ध गुफा विकास समितिका पूर्वउपाध्यक्ष बेलबहादुर थापा का अनुसार गुफाबारे स्थानीयहरू परापूर्वकालदेखि जानकार भए पनि व्यवस्थित पूर्वाधार र प्रचारप्रसार पछिल्ला वर्षमा मात्र सुरु भएको हो।

उनका अनुसार गुफाको प्रवेश मार्ग साँघुरो भएकाले निहुरिएर मात्र भित्र पस्न सकिन्छ। प्रवेशद्वारबाट करिब ३० मिटर भित्र पुगेपछि पहिलो तला आउँछ, जहाँ करिब १५० जनासम्म अटाउन सक्ने ठाउँ छ। त्यसपछि दोस्रोदेखि नवौँ तलासम्म गुफा विस्तार भएको छ।

हाल तेस्रो तलासम्म सहजै पुग्न सकिने भए पनि चौथो तलातर्फको मार्ग अत्यन्त साँघुरो र जोखिमयुक्त बनेकाले माथि जान रोक लगाइएको छ। चौथो तलामा पुग्दा पुराना सिक्का र तामाका भाडाजस्ता पुरातात्विक सामग्री देखिएको स्थानीयहरूको भनाइ छ।

सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यभित्र समेटिएको यो गुफा जिदी खोला किनारको जङ्गल क्षेत्रमा अवस्थित छ। गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिङ्ग तथा विभिन्न देवीदेवताका आकृति देख्न सकिन्छ।

स्थानीय तेजबहादुर थापा का अनुसार गुफाको धार्मिक महत्व पनि उत्तिकै रहेको छ। साउन महिनामा शिवको विशेष पूजा गरिनुका साथै बाली लगाउने र भित्र्याउने समयमा नवान्न चढाउने प्रचलन छ। साथै, यहाँ प्रत्येक वर्ष चैते दसैँमा मेला लाग्ने गरेको छ।

पछिल्ला वर्षहरूमा गुफाप्रति पर्यटकको आकर्षण क्रमशः बढ्दै गएको भए पनि यसको व्यापक प्रवर्द्धन र सहज पहुँचका लागि थप पहल आवश्यक देखिएको छ।

प्रतिक्रिया

Leave a Reply