४६८ औं हप्तामा ११० पिन्ट रगत संकलन, सामाजिक सेवाको शक्तिशाली सन्देश

evccfn@gmail.com' rastriyakhabar
६ चैत्र २०८२, शुक्रबार २१:०९

काठमाडौं । निरन्तरता, प्रतिबद्धता र मानव सेवाको उत्कृष्ट उदाहरण बनेको चक्रपथ सरसफाई महाअभियानले आफ्नो ४६८ औं हप्तामा फेरि एक ऐतिहासिक अध्याय थपेको छ। ११ औं नियमित बृहत रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न हुँदै ११० पिन्ट रगत संकलन गरिएको छ, जसले मानव जीवन बचाउने अभियानमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

“रगत अभावमा कसैले ज्यान गुमाउन नपरोस्” भन्ने मूल मन्त्र बोकेको यो अभियानले समाजमा सकारात्मक ऊर्जा मात्र होइन, संवेदनशीलता र सहकार्यको अनुपम उदाहरण प्रस्तुत गरेको छ। कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिता देखिएको थियो, जसले सामाजिक उत्तरदायित्वप्रति नागरिक चेतना बढ्दै गएको संकेत गर्छ।

यस महत्वपूर्ण कार्यक्रमको नेतृत्व चक्रपथ सरसफाई महाअभियानका संयोजक लोक बहादुर टण्डनले गर्नुभएको थियो। उहाँको निरन्तर प्रयास र दूरदृष्टिले यो अभियानलाई देशकै प्रेरणादायी सामाजिक आन्दोलनको रूपमा स्थापित गरिरहेको छ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न संस्थाहरूको सक्रिय सहकार्य रह्यो। सहआयोजकका रूपमा ग्रीन सिटी हस्पिटल, यती हेल्थ साईन्स एकेडेमी, बह्मा कुमारी राजयोग उपसेवाकेन्द्र रानिवारी तथा ब्लो दान काठमाडौं मध्य क्षेत्रको उल्लेखनीय भूमिका देखियो।

कार्यक्रम व्यवस्थापनको जिम्मेवारी गायक तथा सामाजिक अभियन्ता तिलक बस्नेतले कुशलतापूर्वक सम्हाल्नुभएको थियो भने प्रचार–प्रसारको मोर्चामा सामाजिक अभियन्ता तथा सञ्चारकर्मी डि.बि. पराजुली सक्रिय रूपमा देखिनुभयो।

मिडिया सहकार्यमा राष्ट्रिय खबर डटकमतुफान न्यूज डटकमले कार्यक्रमलाई व्यापक रूपमा जनसमक्ष पुर्‍याएका थिए। प्राविधिक सहयोग भने मेट्रो ब्लड बैंकले प्रदान गरेको थियो, जसले संकलित रगतलाई सुरक्षित र व्यवस्थित रूपमा व्यवस्थापन गर्‍यो।

कार्यक्रमको अर्को आकर्षण भनेको रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। यसले रक्तदानप्रति सम्मानको भावना बढाउँदै आगामी दिनमा अझ धेरैलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply