काठमाडौं। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाट अवैध रूपमा विदेशी मुद्रा बाहिर लैजान खोजेको आरोपमा प्रहरीले तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा र सिन्धुपाल्चोक लिशङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका छन्।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय का प्रवक्ता तथा प्रहरी उपरीक्षक राजकुमार सिलवाल का अनुसार उनीहरू ग्वाङझाउ जानका लागि चाइना साउदर्न एयरलाइन्स को उडान नम्बर CZ6068 चढ्न लागेका थिए।
विमानस्थलको अन्तरराष्ट्रिय प्रस्थानतर्फको ह्याण्ड ब्यागेज चेकिङका क्रममा शरीर खानतलासी तथा सामान स्क्रिनिङ गर्दा उनीहरूको साथबाट अमेरिकी डलर बरामद गरिएको हो।
प्रहरीका अनुसार अनिता लामाको साथबाट १० हजार अमेरिकी डलर, सङ्गीता लामाको साथबाट १० हजार अमेरिकी डलर र विनोद लामाको साथबाट ८ हजार ९०० अमेरिकी डलर गरी कुल २८ हजार ९०० अमेरिकी डलर बरामद भएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया