कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न उज्यालो नेपाल पार्टीको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०८२, बुधबार ०७:१७

काठमाडौं । उज्यालो नेपाल पार्टी ले जेन जी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग को प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ।

पार्टीका प्रवक्ता डा. राजु थापा ले मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको अवस्थामा पनि हालसम्म सार्वजनिक नगरिनु दुःखद, चिन्ताजनक र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा नागरिकमा अन्योल, शंका र असन्तोष बढ्नु स्वाभाविक हुन्छ। पीडित, घाइते, मृतकका परिवार तथा आन्दोलनसँग जोडिएका नागरिकले सत्य, न्याय र जवाफदेहिताको अपेक्षा गरिरहेका बेला प्रतिवेदन गोप्य राखिनु उचित होइन।”

पार्टीले सत्य सार्वजनिक नगरी स्थायित्व सम्भव नभएको उल्लेख गर्दै प्रतिवेदनलाई केवल सरकारी कागजात नभई सार्वजनिक सरोकार, संस्थागत सुधार र न्यायिक प्रक्रियाको आधार बन्नुपर्ने दस्तावेजका रूपमा व्याख्या गरेको छ।

उज्यालो नेपाल पार्टीले उक्त विषयलाई प्रतिवेदन सार्वजनिक गर्ने–नगर्ने प्रश्नभन्दा पनि लोकतान्त्रिक शासन, सार्वजनिक उत्तरदायित्व र नागरिक विश्वाससँग जोडिएको विषयका रूपमा लिएको जनाएको छ।

पार्टीका प्रमुख मागहरू:

१. कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस्।
२. ढिलाइ भएको भए कारणसहित स्पष्ट समयसीमा सार्वजनिक गरियोस्।
३. प्रतिवेदनका निष्कर्षका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष र कानूनी कारबाही अघि बढाइयोस्।
४. पीडित तथा प्रभावित परिवारलाई सत्य, न्याय र परिपूरण सुनिश्चित गरियोस्।
५. भविष्यमा यस्ता घटना नदोहोऱ्याउन सुरक्षा संयन्त्र, भीड व्यवस्थापन र मानव अधिकार संरक्षणमा सुधारात्मक योजना ल्याइयोस्।

प्रतिक्रिया

Leave a Reply